ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरको सम्झौता : २३ अर्ब पुँजीको देशकै ठूलो बैंक बन्दै

नेपालको इतिहासमा बैंकिङ क्षेत्रमा सबैभन्दा ठूलो मर्जर हुने भएको छ । दुई वाणिज्य बैंकहरू ग्लोबल आइएमई बैंक र जनता बैंक लिमिटेड एक–आपसमा गाभिने भएका हुन् । ग्लोबल र जनता मर्ज भएपछि वित्तीय आकार तथा संरचनाको हिसाबले सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नेछ । ग्लोबल आइएमई र जनता बैंक लिमिटेड शुक्रबार मर्जरको सम्झौता भएको हो । मर्जरको सम्झौतामा ग्लोबल आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन् । दुवै बैंकको सम्मान हुने तथा अस्तित्व रहने गरी मर्जरको सम्झौता भएको दुवै अध्यक्षले नयाँ पत्रिकालाई प्रतिक्रिया दिए । 

मर्जरको सम्झौता भएको बारेमा धितोपत्र बोर्डलाई जानकारी गराइसकेको ग्लोबल आइएमईका अध्यक्ष ढकालले जानकारी दिए । नेपाल राष्ट्र बैंक, नेप्सेलगायत नियामक निकाय तथा सरोकारवाला संस्थालाई समेत पत्राचार गरिएको उनले बताए । 

मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई नै राख्ने, सञ्चालक समितिमा जनताबाट दुईजना र ग्लोबल आइएमईबाट पाँचजनाको प्रतिनिधित्व हुने र प्रमुख कार्यकारी अधिकृतमा जनताबाट परशुराम कुँवर क्षत्री रहने गरी सम्झौता भएको छ । ग्लोबल आइएमईको शेयर मूल्य १ सय र जनता बैंकको ८५ रुपैयाँ कायम हुने गरी सम्झौता भएको अध्यक्ष ढकालले जानकारी दिए ।

 चार महिनामा एकीकृत कारोबार
मर्जरमा जाने सम्झौता भएको चार महिनाभित्र एकीकृत कारोबार गर्ने अध्यक्ष ढकालले बताए । ‘अब हामी नियामक निकायको स्वीकृति लिएर मर्जरका बाँकी प्रक्रिया अघि बढाउँछौँ,’ उनले भने, ‘अबको चार महिनाभित्र डिडिएलगायतका सबै काम सकेर एकीकृत कारोबार सुरु गर्ने लक्ष्य लिएका छौँ ।’ संयुक्त मर्जर कमिटी (जेएमसी) ले बाँकी प्रक्रिया टुंग्याउने उनले बताए । 

यसरी भयो सात दिनमै पहिलो ‘बिग मर्जर’को सहमति 
नेपाल राष्ट्र बैंकले १३ असारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्षहरूलाई बोलाएर मौद्रिक नीतिअघि नै मर्जरको प्रक्रिया सुरु गर्न निर्देशन दिएको थियो । सोही कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एक सताभित्रै मर्जरको जोडी खोज्न मौखिक निर्देशन दिएका थिए । त्यसपछि दुवै बैंकले मर्जर कमिटी बनाएर विभिन्न बैंकसँग मर्जरको सम्भावनाका बारेमा छलफल अघि बढाए । अन्तिममा ग्लोबल आइएमई बैंक र जनताबीच कुरो मिलेको जनताका अध्यक्ष रायमाझीले बताए । ‘पाँच दिनअघि दुई बैंकको मर्जर कमिटीबीच मर्जरको समझदारी भएको थियो,’ उनले भने, ‘आज हामी अध्यक्षहरूबीच भएको पहिलो भेट र छलफलमै सम्झौता भयो ।’

सबैभन्दा ठूलो बैंक बन्दै
बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी वृद्धिपछि पहिलोपटक दुई वाणिज्य बैंक मर्जरमा गएका हुन् । चुक्ता पुँजी वृद्धिअघि एनआइसी बैंक र बैंक अफ एसिया मर्ज भएर एनआइसी एसिया बैंक बनेको थियो । त्यसयता वाणिज्य बैंकहरूबीच मर्जर भएको थिएन । 

राष्ट्र बैंकले बजेटले लिएको नीतिअनुसार ठूला बैंकहरूको मर्जरलाई जोड दिएपछि ग्लोबल आइएमई र जनता मर्जरमा गएका हुन् । मर्जरपछि बन्ने बैंक पुँजीका हिसाबले सबैभन्दा ठूलो बन्नेछ । मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी १८ अर्ब ३१ करोड रुपैयाँ हुनेछ भने रिजर्भ ४ अर्ब ४८ करोड रुपैयाँ पुग्नेछ । चालू आवको तेस्रो त्रैमाससम्मको तथ्यांकलाई हेर्दा मर्जरपछि बैंकको कुल निक्षेप १ खर्ब ८७ अर्ब ३७ करोड र कर्जा १ खर्ब ६७ अर्ब ८६ करोड रुपैयाँको हुनेछ । 

बैंकिङ क्षेत्रकै ऐतिहासिक सम्झौता भएको छ : चन्दप्रसाद ढकाल
अध्यक्ष, ग्लोबल आइएमई बैंक

सरकारले लिएको ठूला बैंक मर्ज गर्ने नीति तथा राष्ट्र बैंकको निर्देशनअनुसार ग्लोबल आइएमई र जनता बैंक गाभिने भएका छन् । यो बैंकिङ क्षेत्रकै ऐतिहासिक सम्झौता हो । अब हामी झन्डै २३ अर्बको (चुक्ता पुँजी र रिजर्भसमेत गरी) बैंक बन्दै छौँ । मर्जरपछिको ग्लोबल आइएमई बैंक चुक्ता पुँजीलगायत अन्य वित्तीय विवरण र संरचनागत हिसाबले सबैभन्दा ठूलो बैंक बन्नेछ । 

पाँच दिनमै मर्जरको साइत जुर्‍यो, उत्साहित छौँ : केशवबहादुर रायमाझी
अध्यक्ष, जनता बैंक

राष्ट्र बैंकको निर्देशनअनुसार दुवै बैंकले मर्जरका लागि पार्टनर खोजिरहेका थियौँ । एक–अर्कासँग छलफल सुरु गरेको पाँच दिनमै मर्जरको सम्झौता भयो, हामी दुवै पक्ष उत्साहित छौँ । थुप्रै बैंकसँग छलफल गरे पनि ग्लोबल आइएमईसँग मर्ज हुन जुरेको रहेछ । सम्मानजनक मर्जर भएको छ, दुवै बैंकले एक–अर्काको अस्तित्वलाई स्वीकार गरेका छौँ । अब हामी देशकै ठूलो बैंक हुनेछौँ ।

(साभार : नया पत्रिका )


Comments

comments

Read More