आदिवासी/जनजाति समुदायमा दशैको चर्चा

आदिवासी जनजाति समुदायमा दशैको चर्चा शीर्षक हेरेर अलमलमा नपर्नुहोस् । यो लेखमा दशै कसरी मनाउने भन्ने तरिकाहरुबारे उल्लेख गरेको छैन, बरु नेपालमा दशै कहिले कसरी शुरु भयोे? र यो पर्वलाई आदिवासी÷जनजाति समुदायले कसरी हेर्ने गरेको छ? भन्ने कुरालाई केलाउने प्रयास गरेको छ । अहिले दशैको माहौल छ, वातावरण दशैमय छ । उपत्यका राजधानीबाट आफ्नो शहर, गाउँघर जान टिकट लिनेहरुको भीड देखिन्छ । बसपार्कमा लामोदुरीका बसरहरुमा खचाखच भरेर राजमार्गमा कुद्न व्यस्त रहेको दृश्य छ । घटस्थापनाको दिनदेखि नेपाल अधिराज्यको अड्डा अदालत, शैक्षिक संस्थाहरु विदाका दिन शुरु भएका छन् । आदिवासी÷जनजाति समुदायको व्यक्तिहरुले पनि दशैलाई सामाजिक चाडपर्वका रुपमा स्वीकार गरी अवलम्बन गरेको अवस्था छ । कुनै पनि अदिवासी जनजाति मूलका कर्मचारी नेता कार्यकर्ताले म दशै बहिष्कार गर्छु र राज्यले दिएको विदा पनि मान्दिन र भत्ता पनि लिन्न भनेर कतै भनेको सुनिएन देखिएन, बरु आफ्नो परिवार लिएर सपिङ मल बजारहरुमा पुगेर किनमेल गर्नमा व्यस्त देखिन्छन । यसैविच हुनेखानेको लागि दशै सधै नै हुन्छ रे तर हँुदा खानेको लागि भने दशै दशा बनेको छ भन्ने पनि पनि सुनिन्छ । बालबालिकाहरु दशै आयो स्कुल पनि जान नपर्ने अनि नयाँ नयाँ कपडा पनि लगाउन पाउने, मासु भात पनि खान पाउने भएर खुशीले रमाएको पनि देखिन्छ । सडक सार्वजनिक स्थलहरुमा रातो टिका र जमरा लगाएर हिडिरहेकाहरु पनि भेटिन थालेका छन् ।
वर्तमान नेपाल बहुभाषाी, बहुजाति, बहुधार्मिक, बहुसंस्कृति भएको मुलुक हो । यहाँ भोट बर्मेलि र भारोपेली भाषा परिवार, अहिन्दु र हिन्दुहरुको बसोवास रहेको छ । बहुसंख्यक आदिवासी जनजातिहरुको धर्म, संस्कृति, सामाजिक चलनहरुमा विविधता रहेको भएता पनि राजनैतिक सत्ता र धार्मिक अतिक्रमणको चपेटाले धरापमा परेका छन । यसैबीचमा राजनैतिक र धार्मिक रुपमा जोडिएको दशैको पृष्ठभुमिलाई यहाँ उजागर गर्नु आवश्यक हुन आउछ । वास्तवमा दशैको प्रचलन नेपालमा कहिले देखि शुरुभयो? धेरै लामो इतिहास र भरपर्दाे आधार नभेटिए पनि दशैको ऐतिहासिक सुरुवातको बारेमा लिच्छवीकालसम्म जवरजस्ती घिसार्ने प्रयत्न भएको देखिन्छ ।
फेसबुकको मेसेन्जरमा एउटा भ्वाइस मेसेज धेरैजनाले मलाई पनि फरवर्ड गरेको छ, करिब तीन मिनेटको यो भ्वाईस मेसेजमा भनिएको छ, – “दशै तपाईको चाड हो वा होइन बुझेर मात्र मनाउनु होला । दशै भारतबाट आयत गरिएको चाड हो । नेपाल भूभागसंग र नेपालको आदिवासी जनजातिसंग दशैको कथाको सम्बन्ध भएको इतिहास कहिँ कतै कसैले पढ्नु भएको छ? गोर्खाराज्यको विस्तार भएपछि अतिहिन्दुवादी निरंकुश गोर्खाका शाह राजाले आदिवासी जनजातिलाई हिन्दू धर्म सस्कृति र खस भाषालाई स्वीकार्न लगाएको इतिहास बाह्र बजेको घाम जतिकै छर्लाङग छ । दशैको टिका थाप्न राणा शासकको आदेशको पालना नगर्दा आदिवासी जनजाति रामलिहाङ अठपहरिया र रिदमा अठपहरियालाई झुण्डायर हत्या गरेको थियो । त्यसपछि अठपहरियाहरुलाई दशै मान्न बाध्य बनाएका थिए । .. गोरखा राजा पृथ्वीनारायण शाहले किपट खोस्ने धम्की दिएकाले जबरजस्ती लिम्बुहरुले दशै मानेका हुन । जोगीको भेषमा जासुस पठाएर दशै नमनाउने लिम्बुहरुलाई यातना दिएर दशै मनाउन बाध्य बनाएका थिए । षडायन्त्रपूर्वक गोरखाका राजाले उपत्यका कब्ज गरेता पनि नेवारहरुले गोरखाका राजा स्वीकारेका थिएनन । नेवारहरुलाई गोरखा राजाको शासन स्वीकार्न बाध्य बनाउन गोरखा दरबारबाट फुलपाती ल्याएर काठमाडौंको टुंडिखेलमा फुलपाती बढाई गरेर नेवारहरुलाई दशै मान्न बाध्य बनाएका थिए । पृथ्वीनारायण शाहको आदेश अनुसार सेनामा काम गर्ने गुरुङहरु उनीहरुका परिवारहरुलाई र गोरखा नजिक गाउँका गुरुङहरुलाई दशैमा अनिवार्य पशुबली दिनुपर्ने, बलि दिएपछि हत्केलामा रगत लगाएर ढोकाको दाँया र बाँया छाप लगाउन बाध्य बनाएका थिए । बि.सं. १८२६देखि राजेन्द्र विक्रम शाहले गुरुङहरुलाई लामा पुजारी राख्न बन्देज लगाएर बाहुन पुजारी राख्न बाध्य बनाएका र दशै मान्न बाध्य बनाएका थिए । बिंसं. १६१६मा द्रब्य शाहले खड्ग मगर राजालाई निर्मम हत्या गरेको र मगरहरु माथि शासन गरेको दिन देखि मगरहरुलाई दशै मनाउन बाध्य बनाएको इतिहास छ । सुनकोशीको बगरमा हतियार लुकाएर राखेर पृथ्वीनारायण शाहले तामाङ राजा रिन्जेन दोर्जेलाई मित लगाउन बिना हतियार आउनु भनेर तिमालबेशी भन्ने ठाउँमा बोलाएर निर्ममता पूर्वक हत्या गरेर तामाङहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।”
अब एकैछिन दशै के हो? यसको के महिमा छ भन्ने कुरालाई हिन्दु धर्मशास्त्रहरुमा लेखिएका केही कथाहरुलाई हेरौ – “देवी पूराण अनुसार सत्य युगमा महिषासुर नाम गरेको दैत्य सम्राटले देवताहरूका राजा इन्द्रलाई युद्धमा जितेर स्वर्गमा राज्य गरे र देवताहरूमाथि आतंकपूर्ण शासन गर्न थाले । देवताहरू डराएर ब्रम्हाको शरणमा गए । ब्रम्हाको सल्लाह अनुसार बिष्णु सहित महादेवको शरणमा पुगे । सबै देवताहरूको छलफल पछि आ–आफ्नो शक्तिपुंज निकाले । ती शक्ति पुञ्जहरू एकत्रित भई शक्तिस्वरुपा नवदुर्गा भगवतीको रुप धारण ग¥र्यो । नवदुर्गा भगवतीले नवौं दिनसम्मको युद्ध पछि शन्ड मुन्ड र रक्तबिज सहित महिषासुरको बध गरे र दशौँ दिनमा विजय उत्सब मनाए । त्यो दिन आश्विन शुक्ल प्रतिपदादेखि दशमी परेको थियो ।
अद्भुत रामायण र श्रीमद्देवी भागवत अनुसार अर्को कथा प्रसंग जोडिएको छ, दशैंसँग । रामले रावणको बध गरेर अयोध्या फर्केपछि ठुलो जन सभा भयो । त्यो सभामा रामको जयजयकार र वीरताको बखान चलिरहंदा सीताले मुख लेप्र्याएर व्यंग्य मुस्कान छोडेको दृश्य विश्वामित्रले याद गरेका रहेछन । जनसभा समाप्त भएपश्चात विश्वामित्रले सीतासँग सोधे । धेरैबेरको अनुरोध पछि सीताले भनिन त्यो जाबो दश टाउके रावणलाई बध गर्दा त रामको बिरताको यत्रो बखान हुञ्छ भने सहश्र टाउके अहिरावण र महिरावणलाई बध गरे भने तिमीहरूले के गर्दा हौ ? त्यसकारणले हाँसेकी हुँ । सीताको यो अभिव्यक्तिले रामसभामा ठुलो तरङ्ग पैदा गर्यो । रामको पुरुषार्थमा धक्का लाग्यो र उनले भने त्यसो भए म अहिरावण र महिरावणको बध नगरी छोड्दिन, रामले प्रतीज्ञा गरे । युद्धको तयारी भयो । घमासानको युद्धमा राम समेत उनका भाइहरू मुर्छित भए, कोलाहल मच्चियो । त्यहीँ मौकामा सीताले नवदुर्गा भगवतीको रौद्र रुप धारण गरी सहश्र टाउके रावणहरूको बध गरिन । त्यो समय पनि आश्विन शुक्ल प्रतिपदादेखि नवमी नै परेको थियो र दशमीको दिन विजयोत्सब मनाए । अर्का थरि मत अनुसार मानव शरीर नौवटा ढोका भएको दूर्ग हो । नौवटा ढोका भएको दूर्ग अर्थात नव द्वारको दूर्ग नवदुर्ग । काम, क्रोध, लोभ, मोह, अहंकार जन्य रावण र महिषासुरको जस्तो दुर्गुणहरूको बलि दिएर भगवतीलाई खुशी पार्ने दिवशको रुपमा दशैं पर्वलाई शुरु गरेका थिए ।”

स्वामी प्रपन्नाचार्यका अनुसार, “नवदुर्गा, चण्डी र सुम्निमा तथा युसाहाम एउटै देवीको नाम हो । इष्टदेव महादेव, पार्बतीलाई पारुहाङ तथा सुम्निमाको रुपमा मान्ने गरिएकोछ । लिम्बुहरु धावासाम, युमासाम भनेर महादेव र पार्बतीलाई इष्ट देवदेवीको रुपमा मान्दछन ।” वास्तवमा दशैं धर्म होइन, यो एउटा परम्परागत सांस्कृतिक चलन हो । विश्वभरमा हिन्दुहरु यसलाई आफ्नो मौलिक चाडको रुपमा ठान्दछन । दशै, तिहार, तीज, बुद्धजयन्ती, शिवरात्री, इन्द्रजात्रा आदिजस्ता चार्डपर्वहरु नेपालीहरुको जीवनपद्धति बनेका छन ।
न्यू इयर, क्रिसमस, भ्यालेन्टाइन डेका दिन ठमेल दरबारमार्गमा नेपालीहरुको विशेष जमघट हुन्छ । यो विदेशी चाडपर्व अवसरहरुलाई नेपालीले जसरी स्वतस्फुर्त रुपमा जसरी अवलम्बन गरेको छ दशैलाई त्यो रुपमा नभएर राज्यले बाध्यात्मक रुपमा मान्न लगाएको, स्वीकार्न बाध्य बनाइएको भन्ने आदिवासी जनजाति समुदायको गुनासो सुनिन्छ । दशैको सांस्कृतिक, सामाजिक, र्आिर्थक र राजनैतिक महत्व के छ ? यहाँनेर केलाएर हेरेमा दशै आदिवासी जनजातिको लागि कस्तो पर्व हो भन्ने कुरा थाहा हुन्छ ।
आदिवासी जनजाति समुदायमा दशैको राजनैतिक पक्षः
मानवशास्त्री डा.डम्बर चेम्जोङ दशैलाई राजनैतिक चाड मान्दछन् । चेम्जोङको भनाईमा “यो गोरखाराज्यको विस्तारको क्रममा मनाएको विजयउल्लास हो । गोरखाका शाह राजाले जितेको राज्यहरुलाई कज्याउनका लागि पनि यो दशै थोपरिएका हुन ।” आकाजी शेर्पाको भनाईमा “सबै नेपालीले दशै नमान्ने भएको र भारत लगायत अन्य देशका हिन्दुहरुले पनि दशै मान्ने भएकोले दशैलाई नेपालीहरुको चाड होईन हिन्दुहरुको चाड भनियोस ।” “राज्यको ढुकुटीबाट करोडौ रुपैया खर्चेर, सेना प्रहरी लगाएर वर्षको ३५ दिन सार्वजनिक विदा दिएर हिन्दुको चाड पर्व दशै, तिहार, जनै पूर्णिमा, तिज, बसन्त पञ्चमी मनाउने कार्यहरु बन्द गरियोस् वा आदिवासी जनजातिका चाडहरु सकेला, भुमे पूजा, चोनाम पर्व, उधौली उभौली, लोसार, छठ जितिय, सिरुवा पर्व, महपूजा, माघीमा पनि सैनिक मञ्चमा सेना प्रहरीले हर्ष बढाईका साथ मानइयोस ।” आदिवासी अभियन्तहरुको भनाई रहेको छ ।
पञ्चायत अन्त्य संगै नाम मात्रैको बहुदलीय व्यवस्था घोषणा भए पश्चात नेपालको राजनैतिक, धार्मिक, सांस्कृतिक, सामाजिक पक्षमा क्रान्तिको थालनी भयो । २०४७ पछि युगौंदेखिको रैथाने धर्म, संस्कृति, चाड पर्व सामाजिक परम्परा मान्यताहरुको खोजी गर्ने थोरै मौका मिल्यो । राजनैतिक, धार्मिक र सास्कृतिक तथा सामाजिक विशिष्टताभित्रका अनेक कोणबाट अथ्र्याउन थालियो । द्रव्य शाहले मंगोल पुर्खा वध गरी स्थापना गरेको आधुनिक गोरखा र पृथ्वीनारायण शाहले विस्तार गरेको साम्राज्य वर्तमान नेपाल र राणाहरुले निर्माण गरेको मनुवादी नीतिको बिरुद्ध शाहस साथ बोल्ने हिम्मत जुटेपछि बदलिदो युगसंगै खोज अनुसन्धानको क्षेत्रमा पनि फराकिलो हुन पुगेको छ ।
आदिवासी जनजाति समुदायमा दशैको सामाजिक पक्ष
दशै राष्ट्रिय चाडको रुपमा राज्यको तर्फबाट घोषणा भएको छ । दशैमा लामो बिदा दिने र दशैमा सरकारी कर्मचारीहरुले थप दशै भत्त पाउने व्यवस्था पनि सरकारले गरेको छ । आदिवासी जनजाति अभियन्तको भनाईमा भने “दशैं मनाउनुको कारण चाँहि केन्द्रीय सत्ता (हिन्दु राज्य)ले आफ्नो हैकम र अधिनस्थता स्वीकार्न लगाएजस्तै स्थानीय सत्तामा रहेकाले आफ्नो हैकम र अधिनस्थतालाई कायम राख्ने क्रममा बाध्य पारेर हो ।”
अर्केतिरबाट हेर्ने हो भने, जुनसुकै जाति थरको नेपाली होस दशै, धनी र गरीब सबैको साझा चाडको रुपमा लिएको पाइन्छ । लिम्बु, राई, मगर, गुरुङ, तामाङ, थारु जातिले वारपार निधारभरी दहीसँग मुछेर सेतोअक्षताको टिका लाएर विजयदशमीदेखि पूणिर्माको दिनसम्म बडो हर्षोल्लासपूर्वक परिवार आफन्त र अन्य मान्यजनबाट टिका थापेर आशिर्वाद ग्रहणगर्ने गरेको पनि भेटिन्छ । निधारभरी दहीसँग मुछेर सेतो अक्षताको टिका लगाउने चलन जनजातिहरुबाटै प्रारम्भ भएको हो पनि भनिन्छ । निधारभरी टिका लाउने चलन दक्षिणबाट यहाँ आएको होइन । काठमाण्डौं उपत्यकामा अबिर मिसाएर राता टीका लाउने चलन छ । त्यही चलन आजभोलि नेपालभित्र र बाहिर बढ्दो छ । भारतीय हिन्दुहरु टीका नलगाएरै दशैको उत्सव मनाउँछन ।
सेतो टिकाबारे आदिवासी जनजाति वृत्तमा ऐतिहासिक कथन यस्तो रहेको छः “द्रव्य शाहको हतियारबाट घले राजा मारिए । सन् १५५९ मा गोरखा राज्य स्थापना भयो । घले राजाको रगतमा मुछिएको चामल निधारमा टाँसी उत्सव मनाउन थालियो । गोरखा र लमजुङका आदेश नमान्ने अहिन्दु मूलबासीहरुलाई चेपे नदीमा निर्मम हत्यागरी फ्याकियो । कतिपयले आफू बच्नकै लागि शान्तिको कामना गर्दै सेतो टिका ग्रहण गर्दै आत्मासमर्पन गरे, भन्ने रहेको छ ।”
नेपालको राष्ट्रियता र राष्ट्रिय एकता आधार हिन्दुको चाड दशै, तीज, जनैपुर्ने, खस भाषा र दौरा सुरुवाल टोपी मात्र हुन सक्दैन, नेपालको राष्ट्रियता र राष्ट्रिय एकताको आधार सकेला, उधौली उभौली, लोसार, ल्होछार, छठ जितिय, सिरुवा पर्व, भूमे पूजा, महपूजा, माघी, ईद पनि हुनुपर्छ, शेर्पा, राई, गुरुङ, मगर, तामाङ, लिम्बु, थारु, नेवार, मुश्लीम लगायत अन्य जातजातीको भाषामा हुनुपर्छ र हिमाल, पहाडमा र तराईमा लगाईने पोशाकहरुलाई बनाइयोस भन्ने माग पनि बुलन्द हुँदै आइरहेको छ ।
आदिवासी जनजाति समुदायमा दशैको सँस्कृतिक पक्ष
“आयूद्रोणसुते श्रीयम दशरथे शत्रुक्षयम राघवे । ऐश्वर्यम नहुषे गतिश्च पवने मानञ्च दुर्योधने । दानम् सूर्यसुते बलम हलधरे सत्यञ्च कुन्तीसुते । विज्ञानम विदुरे भवन्तु भवताम् कीर्तिश्च नारायणे” (अर्थः द्रोणपुत्र अश्वत्थामाको जस्तो लामो आयु, दशरथ राजाको जस्तो सम्पति, रामको जस्तो शत्रु नाश, नहुष राजाको जस्तो ऐश्वर्य, पवनपुत्र हनुमानजस्तो गतिशील, दुर्याधनको जस्तो मान, सूर्यपुत्र कर्णजस्तै दानवीर, बलरामको जस्तै बल, कुन्तीपुत्र युधिष्ठरको जस्तो सत्यवाद, विदुरको जस्तो ज्ञान र भगवान नारायणको जस्तो कीर्ति प्राप्त होस । दशैमा उल्लेख गरिने र पुजिने पात्रहरु देवीदेवताहरु सबै हिन्दूधर्मसंग सम्बन्धित छन् । शेर्पा, राई, गुरुङ, मगर, तामाङ, लिम्बु, थारु, नेवार, मुश्लीम लगायत अन्य जातजातीका लागि यो अनौठो र नौलो लाग्नु स्वभाविक हो । पूजाआजा, आराधना, अनुष्ठान भनेको कुनै पनि समुदाय तथा समाजको सामाजिक, सांस्कृतिक र जीवन परम्परासँग अभिन्न रुपमा गाँसिएर आएको हुनुपर्छ ।
मेरा एक जना मित्रले फेसबुकमै तामाङहरु सबै चाडवाड पर्व मान्छन् र ८०% कमाई मोजमस्ती भोज भतेरमै सिद्धाउछन र गरिब हुन्छ भन्ने तर्क गर्दै लेख्छन् – “यस्तै भैरहेको छ हाम्रो समुदायमा विदेश चाडदेखि लिएर नेपालमा भएको सबै चाड मान्न भ्याउँछौं हामी तामाङहरू अनि कहाँबाट उन्नति प्रगति होस्? वर्षभरि गरेको आम्दानीको ८०% त चाडवाड मनाएरै सकिन्छ । मेरो गाउँमा तामाङको बाहुल्यता रहेको छ साथै क्षेत्री अनि जैसीहरू बसोबास गर्छन र मेरो थुप्रै साथीहरु क्षेत्री अनि जैंसीहरु पनि छन उनीहरुसँग कुरा हुन्छ त्यस्तै कुराको सिलसिलामा मैले एकदिन सोधे तिमीहरूको घरमा एक केजी जिराले कति समय पुग्छ भनेर उनीहरूले भन्यो करिबन १ वर्ष पुग्छ जबकि एक केजी जिरा त हामी दसैँमा मात्रै सकाउछौं । ल हेर्नुस है जसको चाड होइन उसैले दसैँमा मात्रै एक केजी जिरा सक्काउँछ भने अनि कहाँ हामी उभो लाग्छौ हामी देख्छु उनीहरूकै घर ठूलो ठूलो छ हाम्रो पनि हालत सधैं उही ।”
आदिवासी जनजाति समुदायमा दशैको धार्मिक पक्षः
“विधि पु¥याएर बलि दिएमा पुण्य प्राप्त हुन्छ भन्ने हिन्दुधर्मको मान्यता रहेको देखिन्छ । यसमा भाकल गर्ने जस्ता अन्धविश्वासका कुराहरु पनि जोडिएको देखिन्छ । यसैगरी हिन्दु संस्कृतिमा अलौकिक वा जादुगरी कथा किंम्बदन्तीहरु पनि जोडिएर आएको भेटिन्छ ।” बौद्धमार्गीहरु बलि प्रथालाई स्वीकार्दैनन, सबै प्राणी बाँच्न पाउनुपर्छ भन्ने मान्यता राख्दछन् ।
डा. डम्बर चेम्जोङ लेख्नुहुन्छ “आख्यानहरुमा सूर शक्ति (देउताहरु)ले असूर शक्ति (राक्षसहरु)माथि विजय प्राप्त गरेको खुशियालीमा दशैं मनाइएको भन्ने छ । देव शक्तिको रुपमा आर्यहरु र राक्षस शक्तिको रुपमा अनार्यहरु हुन भन्ने उनीहरुकै व्याख्याहरुले देखाउँछ । अर्काेतर्फ आदिवासी जनजातिहरु माझ पनि आफ्नै पुर्खाको हत्या गरेर रगतको रातो टिका दशैंमा लगाइएको हो भन्ने मिथक व्याप्त छ । झट्ट हेर्दा त्यो होइन कि जस्तो देखिए पनि ऐतिहासिक र राजनीतिक घटनाक्रमहरुले त्यो मिथकभित्र वास्तविकता उजागर भएको भेटिन्छ । खासगरी हिन्दुहरुले अहिन्दुहरुमाथि विजय प्राप्त गरेको उल्लासमा दशैं मनाइएको कुरालाई आदिवासी जनजातिले मिथक श्रृजना गरेको देखिन्छ । त्यै मिथकको विश्वासमा आदिवासी जनजातिले दशैंमा सेतो टिका लगाउने गर्छन । उनीहरुले दशैं मनाउनुलाई गलत भनिहाल्नु चाँहि हुन्न । तर दशैं निरन्तर मनाइरहनुले हिन्दु राज्य बिस्तारको प्रक्रियालाई अझै पनि स्वीकारिरहन्छौं भन्ने सन्देश गइरहन्छ ।”
अन्तमा,
आदिवासी जनजाति वृत्तमा दशैको बहस जब दशैपर्व आउँछ तब मात्र छलफल बहस चलाएको देखिन्छ । यसलाई अरु कुनै पनि फुर्सदमा बसेर तथ्यपूर्ण छलफल गरेर एकै पटकमा निक्र्याेल गरेदेखि अरु समय अरु नै कुनै उत्पादक कामका लगाउन सकिन्छ हैन र? दसैैं बहसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्ने हो भने पक्कै सामाजिक तथा सांस्कृतिक सद्भावले निरन्तरता पाउनेछ । यो बहस किन निम्तियो भन्नेमा जरासम्मै पुगेर त्यसबाट पाठ सिक्न जरुरी छ । यस पेरिफेरिमा राजनैतिककर्मीहरुको दशैंको अवसरको चियापानको छुट्टै महत्व रख्दछ । फुटबल, साँस्कृतिक कार्यक्रमको पार्ट अलगै छ । २०६२/६३ मा भएको जनआन्दोलनको उपलब्धिस्वरूप मुलुक धर्मनिरपेक्ष बन्यो । तर, अझै जनजाति, मधेसीलगायत उत्पीडित जाति, समुदाय, क्षेत्र तथा लिंगका असन्तुष्टिका स्वरहरू निरन्तर नै छन । साँच्चिकैको नयाँ नेपाल बन्न सकेको छैन । दशैंलाई राज्यले यति धेरै महत्व दिएको छ कि ‘धर्मलाई अफिम’ मान्ने विचार तथा सिद्धान्तबाट प्रेरित नेताहरू नै यसमा लागिपरेका छन ।
तामाङहरु दशै होइन म्हेनीङ मान्छन भन्ने पनि सुनिन्छ, दशैलाई नै तामाङहरुले म्हेनिङ भनेको हो कि म्हेनीङको महिमा अर्थाेक नै छ अध्ययनको विषय छ । नेवारहरु यस अवसरमा दशै होइन हामी “मोहिनी नखः” मनाउनछन र यस अवसरमा कालो टिका लगाउँछन, यो पनि खोज अनुसन्धानकै विषय छ ।
दशैको शुभकामना सन्देशहरु आउने क्रममा छ । नखरमउलो बनेर आउने शुभकामनाको बाढीले औपचारिकमा रहने माया, प्रेम, सम्मान, सास्कृतिक चेत अत्यन्तै सिमित पारिदिँदै गएको छ, मिडियाका पाना शुभकामना र बम्पर उपहारले भरिएका छन् । आफ्नो सोच अनुसार दशै मनाउनुहोस । पारिवारिक मेलजोल गर्दै मान्यजनको आशिर्वाद लिएर मनाउनुहोस, पिङ खेल्नोस, चङग उडाउनुहोस । संवेदना सकिँदै गएको समाजमा अर्थहीन शुभकमनाका लस्करहरु आइरहेका छन् । मिडियामा शुभकामना छपाएर, रम बियर भोडका जाँड पिएर शुभकामना कार्ड बाँडेर नमनाउनुहोस । फेसबुकमा खसी बोका राँगा ढाल्दै गरेको फोटोहरु नराख्नुहोस । टीका थाप्दै गरेको लाइभ नगर्नुहोस । जे जस्तो सोच, मान्यता, औकात र सांस्कृतिक धरातल छ त्यस्तै मनाउनोस ।
वर्तमान समयमा दशै नवधनढ्यालाई तुजुक देखाउने प्रदर्शन गर्ने समय बनेको छ । बालबालिकाको लागि चिचि–नाना पाउने समय हो । गरिबलाई जोहो गरेर मिठो मसिनो खाने समय हो । सामाजिक भेटघाट, मिठोमसिनो सगोलमा खाँने, बिरक्तिएका मनको कालोमैलो धुँने, नाता संबन्धलाई पुनरताजगी दिने, विगतको कटुता भुलाएर नयाँ संबन्ध सुरुवात गर्ने मौकाको रुपमा दशै मनाउनुहोस । पुर्खौली थातथलो पुग्ने र मान्यजनको आशिर्वाद लिने, उमेरमा यौवन साटेका साथसंगीसंग कालान्तरमा भेटघाट गर्ने, सामाजिक संबन्ध र भावनाको पर्वको रुपमा दशै सामाजिक सदभावको मञ्च बनाउनुहोस् ।
दसैलाई विजयपर्वको रुपमा मनाईन्छ तर विजय भनेको अर्काको पराजयमा हैन । जहिले पनि मानव सभ्यता विकासक्रममा भएका संघर्ष, त्यसका विजय र पराजयका गाथा बनेका सामाजिक कानुन र चलन जतासुकै पर्व बन्दै जान्छन । अर्काको स्वभिमानको पनि रक्षा गर्दै सम्मान र विजय खोज्नुहोस । सांस्कृतिक रुपमा घृणामाथीको विजय, नकरात्मक सोच माथीको विजयको रुपमा दशैपर्व मनाउनुहोस ।
आदिवासी जनजाति समुदायका लागि दशै मनाउने सामाजिक परम्परा हो संस्कृतिक होइन । सामाजिक पर्व हो धर्मिक चाड होइन, दशै सामन्तकालिन राजनैतिक प्रेरित चाड हो । चलचित्रकर्मी सन्जोग लाफा मगरको दशैलाई “बहिष्कार” भन्ने शब्दावली प्रयोग नगरौं भन्ने भनाईलाई उदृढ गर्दै यो टिपनटापनको लेख यही विश्राम गर्छु – “दशै बहिस्कार होइन परित्याग हो । मगर जातिको नभएको हुँदा मगरहरुले दशै अंगाल्न जरुरी छैन ।” यही भनाई अरु गैरहिन्दु जातजाति जनजाति आदिवासीमा पनि लागु हुन्छ भन्ने लाग्दछ । धन्यवाद । थुजेछे । टशिदेलेक ।

  • बिगेन्द्र वाईबा तामाङ, संघीय सदस्य नेपाल तामाङ घेदुङ

Comments

comments

Read More