सिरमोर व्याडमिण्टन फिटनेस सेन्टरद्वारा थाप्लेको अवलोकन भ्रमण


हुम तमु
पोखरा, १६ कार्तिक
स्याङजा जिल्ला, अर्जुनचौपारी गाँउपालिका, वडा नं. ६ दरौंस्थित थाप्ले भ्यु टावर तथा रिसोर्टको शनिवार पोखरा मुस्ताङ चोकस्थित सिरमोर व्याडमिण्टन फिटनेस सेन्टरका सदस्यहरुले अवलोकन भ्रमण गरेका छन्।
समृद्ध नेपाल निर्माणका लागि पर्यटकीय केन्द्र बन्दै गइरहेको थाप्लेको सिरमोर व्याडमिण्टन फिटनेस सेन्टरका १८ जना सदस्यहरुले अवलोकन गरेका हुन।
थाप्लेमा पुगेका सेन्टरका सदस्यहरुलाई थाप्ले विकास तथा व्यवस्थापन समितिका अध्यक्ष बलराम गुरुङ र थाप्लेलाई पर्यटकीय केन्द्र निर्माणका परिकल्पनाकार मेजर लक्ष्मी प्रसाद गुरुङले अबिर र खादा लगाएर स्वागत गर्नुभएको थियो।
२१ सय ४५ मिटरको उचाईमा अवस्थित स्याङजाको धेरै ठाँउ र पोखरासमेत अवलोकन गर्न सकिने थाप्लेको विकासका लागि देश विदेशमा रहनु भएका दरौंका दाजु भाईहरुबाट साथ सहयोग रहेको परिकल्पनाकार मेजर लक्ष्मीप्रसाद गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार थाप्लेको विकासका बाटो लगायत थाप्लेको भौतिक निर्माण दरौ गाँउलेकै पहलमा भईरहेको छ, निर्माणाधिन बुद्धको मुर्ति सोंपाल तमु समाज काठमाण्डौंका अध्यक्ष विश्व गुरुङको संयोजकत्वमा निर्माण जारी रहेको जानकारी दिनुभयो। पर्यटन प्रवद्र्धन कुनै व्यक्ति, गाँउका लागि मात्रै नभएर राज्यकै लागि योगदान पुग्ने भएकाले राज्यको सहयोगका लाग मेजर गुरुङले आग्रह गर्नुभयो।
थाप्लेको अवलोकन पश्चात सेन्टरका सदस्य चिजकाजी गुरुङले पर्यटकीयको केन्द्रको रुपमा विकास भइरहेको थाप्ले एक पटक सबै पुग्नुपर्ने बताउनुभयो। प्राकृतिक सुन्दरता र थाप्ले व्यवस्थापन समितिको स्वागत तथा व्यवस्थापनले आफुहरुलाई फेरी पनि थाप्ले भ्रमणका लागि आकर्षित गराएको बताउनुभयो।
सेन्टरका अर्का सदस्य शभ्मु श्रेष्ठले थाप्ले पोखराबाट नजिकै रहेको पर्यटकीय केन्द्र बन्दै गइरहेको एक ठाँउबाट धेरै हिमश्रृंखलाको अवलोकन, वरपरका गाँउहरुको दृश्यावलोकन, स्वच्छ हावापानी रहेको र उचित व्यवस्थापन रहेको थाप्ले सबैको रोजाई हुने उहाँको भनाई थियो। शहरको कोलाहल र धुँवाधुलोबाट केही समय भने पनि मुक्ती पाउन थाप्ले पुग्ने पर्ने उहाँको सुझाव छ।
स्वतन्त्र पत्रकार कालाबाङ घडेरीका मिमकाजी गुरुङले थाप्ले पर्यटकीय केन्द्रका लागि अत्यन्तै सम्भावना भएको क्षेत्र भएकाले राज्यको तर्फबाट साथ सहयोग हुनुपर्ने बताउनुभयो। नागरिकस्तरबाट थाप्ले पहिचान स्थापित गरिसकेको अवस्थामा राज्यको तर्फबाट सहयोग जरुरी रहेको उहाँको भनाई थियो।
पाँच वर्ष अघि देखि पर्यटकीय क्षेत्र निर्माणका लागि पहल शुरु भई हाल थाप्ले भ्यु टावर, रिसोर्ट, बनभोज स्थल निर्माण भईसकेको छ भने भगवान बुद्धको विशाल मुर्ति निर्माणको क्रममा रहेको छ। थाप्ले बनभोज र एक रात बसाईका लागि राम्रो स्थलको रुपमा विकास भईरहेको छ।

Comments

comments

Read More