बाबुरामको बिद्रोही भष्मासुर : मोहन गोले

उदयपुर 16 बैशाख

अध्ययनमा सधैं अब्बल अनि परिवर्तनका लागि सदैव बिद्रोही चेतका एक रोलमोडल नाम हो डा. बाबुराम भटराई । नेपालको पूर्व प्रधानमन्त्री समेत भइसकेका एक उच्च ब्यक्तित्व भटराईले माओवादी जनयुद्धमा सहभागी भएर आजसम्म आइपुग्दा जातीय सर्बोच्चता कायम गर्नका लागि सधैं आन्तरिक राष्ट्रियता दबाउने घरेलु दुश्मनलाई प्रधान शत्रुको रुपमा करार गरे र यसैको बिरुद्धमा निरन्तर लडिरहे ।

कुनैबेला गोरखाको गाउँमा तुने चप्पल र जाँघे कट्टु लगाएर हिड्ने केटो बाबुरामले नेपाली समाजको जातीय, बर्गीय अन्तर्विरोधलाई नजिकबाट चिनेका थिए । त्यसैले उनले नेपालको आन्तरिक राष्ट्रियतालाई मजबुत बनाएपछि मात्रै बाह्य विस्तारवाद र साम्राज्यवादको बिरुद्ध लड्नुपर्छ भनिरहे । समृद्धि शासकको निगाहबाट नभई जनताको एकताबाट सम्भव हुन्छ भन्ने मान्यतामा अडिग रहँदा उनी तमाम उत्पीडित सबाल्टर्नहरुको एकमात्र उच्च नेता बन्न पुगेका छन् ।

तत्कालीन नेकपा माओवादी पार्टीमा प्रचण्डपछिका उनी दोस्रो नेता थिए । शान्ति प्रक्रियामा आएपछि जब पार्टीले घरेलु प्रतिक्रियावादी र यथास्थितिवादीसँग साँठगाठ बढायो । आफ्नो उद्देश्यमा गडबड हुने थाहा पाएपछि उनले पार्टी परित्याग गरे । माओवादी युद्धकालमा पनि उनको र प्रचण्डको बीचमा राजासँग मिलेर भारतसँग लड्ने कि भारतसँग मिलेर राजासँग लड्ने भन्नेमा मतभेद सिर्जना भयो । बाबुरामले पहिले घरेलु सामन्तवादको नाइके राजतन्त्रलाई समाप्त गर्न भारतलाई चिढ्याउनु नहुने फरक अडान राखे । यही फरक दृष्टिकोण राखेको कारण रुकुमको लाबाङमा सम्पन्न पोलिटब्युरो बैठकले बाबुरामलाई कारवाही ग¥यो । यसले पार्टीबाट उनको जीवन खतरामा पर्नेसम्मको स्थिति आयो तर क. लालध्वज झुकेनन् । अझ लाल भएर प्रतिवाद गरिरहे । अन्ततः उनकै लाईन सही सावित भयो । सात दल र माओवादीबीच १२ बुँदे दिल्ली सम्झौता भई राजतन्त्र समाप्तीको ऐतिहासिक जनआन्दोलन सम्पन्न भयो । शान्ति र संविधान बाबुरामकै एजेण्डा थियो । त्यसैले मुलुक यहाँसम्म आइपुग्नुमा बाबुरामको योगदानलाई कम आँक्न मिल्दैन । सत्तामा हुनु र नहुनुसँग यसलाई जोडेर हेर्नु हुँदैन ।

माओवादी पार्टी परित्यागपछि आफ्नै नेतृत्वमा पाँच स (१) स्वाधीन राष्ट्र, (२) समानुपातिक लोकतन्त्र, (३) समतामूलक समृद्धि, (४) समुन्नत समाजवाद र (५) सुशासनको उद्देश्य बोकेको नयाँ शक्ति पार्टी गठन गर्न पुगे । संविधान जारी गर्नासाथ उनी मूल पार्टीबाट बाहिरिए । त्यसपछिका दिनमा उनले आफ्नो साध्यलाई पुर्णता दिनका लागि थुप्रै परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरुलाई एकठाउँमा ल्याउने प्रयासमा लागे । आफूले देखेको नेपाली समाज रुपान्तरणको लक्ष्यलाई मूल केन्द्रमा राखेर हिंडेका बाबुराम पदको लोभमा कहिल्यै फसेनन् । अहिले जनता समाजवादी पार्टीमा आवद्ध छन् । यसबीचमा धेरैले भने, बाबुराम अस्थिर हुन् तर उनी उद्देश्यमा कहिल्यै रत्तिभर डगमगाएनन् । सधैं पहाड झैं स्थीर उभिए । पार्टी ठूलो बनाउने नाममा प्रतिगामी र यथास्थितिवादी शक्तिसँग कहिल्यै हात मिलाएनन् । टाढै रहे ।

अहिले ओली सरकारले समाजवादी पार्टी फुटाउनको लागि राजनीतिक दल सम्बन्धी जुन अध्यादेश ल्यायो र पछि फिर्ता पनि भयो । यस प्रसंगमा बाबुरामले प्रधामन्त्रीको रबैयालाई इंगित गर्दै जुन भस्मासुर प्रवृतिको ट्वीट गरे । शब्दमा कडा टिप्पणी गर्ने उनको ट्वीटले एउटा तरंग ल्यायो । अन्तर्वार्तामा बोलिएको यही शब्दलाई लिएर रेडियो नेपालले क्षमा माग्यो । केही युवाहरु साइबर क्राइमको मुद्दा हाल्न प्रहरी कार्यालय पुगे । सामाजिक सञ्जालमा झिनो आवाजमा विरोधको स्वर सुनियो । खासमा यो शब्द कुनै ब्यक्तिप्रति लाञ्छित थिएन । ब्यक्तिको प्रवृतिसँग तुलना गरिएको थियो । प्रवृतिलाई औल्याउँदा नै आपत्ती मान्ने हो भने फेसबुक र ट्वीटर बन्द गरे हुन्छ । किनकि सञ्जालमा यस्ता लाखौ शब्दहरु लाखौ मान्छेले पोष्ट गरिरहेका हुन्छन् । तर मलाई लाग्छ, कुनै घटनाले मार्केट लिइरहेको बेला त्यसलाई विषयान्तर गर्न सकिन्छ कि भन्ने मनसायबाट केही मान्छेहरुले उचाल्दा भष्मासुर शब्दको अलिकति वजन बढ्न गएको मात्र हो । केही समूहको यस्ता सुनियोजित प्रचारवाजीले बाबुरामको बजारमा कमी आउँछ जस्तो मलाई लाग्दैन ।

नेपालको इतिहासमा यहाँको विविध जात, जाति, बर्ग, समुदायको उत्पीडनको बिरुद्ध आवाज उठाउने र बिद्रोह गर्ने पहिलो हाई प्रोफाइल ब्यक्तित्व हुन् बाबुराम भटराई । नत्र नेपालमा प्रधानमन्त्रीसम्मको हैसियत प्राप्त गरिसकेका ब्यक्तिहरुले आजसम्म सत्ताको बिरुद्ध प्रश्न उठाएको शायदै छैन । अझ उत्पीडित समुदायको पक्षमा सत्ताबाट पूर्ण रुपमा बाहिर बसेर कसैले बोलेका छैनन् । केहीले बोले तर सत्तामा प्रवेश गर्ने कार्डको रुपमा मात्र । सोभियत संघमा उच्च जातिका लेनिनले सबै जातिलाई आत्मनिर्णयको अधिकार सहितको स्वशासनको अधिकार दिए र जार शासकबाट उत्पीडित त्यहाँका जातिहरुलाई मुक्त गरे । चीनमा हान जातिका माओले हान जातिको अहंकारवाद बिरुद्ध डटेर सामाना गर्न भने । माओले रुपान्तरणको लागि चीनमा सर्वहारा साँस्कृतिक क्रान्तिको सुरुवात गरे । नेपाली राजनीतिक रंगमञ्चमा पनि बेलाबेलामा त्यस्ता थुप्रै मुक्तिदाताहरु निस्किए तर परीक्षाको घडीमा ती टिक्न सकेनन् । छिमेकी मुलुक भारतमा गान्धीले सहयोग गरेको भए डा. भिमराव अम्बेडकरले जातिवादी ब्यवस्थालाई उठ्नै नसक्ने गरी थला बसाउने थिए । त्यसले नेपाललाई पनि धेरै राहत मिल्थ्यो तर अंग्रेजले दलितलाई अधिकार दिन तयार हुँदा गान्धी उल्टै त्यसको बिरुद्धमा आमरण अनसनमा बसे । क्रान्ति पुरा भएन तर अम्वेडकर जीवनभर लडिरहे ।

त्यसैले मलाई थाहा छैन कि नेपालका बाबुराम भट्टराई कति समय यस्ता भस्मासुर प्रवृतिको बिरुद्ध लड्ने हुन् । त्यो समयले बताउला । तर अहिलेसम्मको इपिसोडहरुमा बाबुरामको बिद्रोह उच्च छ । सलाम अनि धन्यवाद पनि ।।

Comments

comments

Read More