बहुराष्ट्रिय राज्यबारे भ्रम र यथार्थ : मोहन गोले

उदयपुर १७ बैशाख

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच २०७७ बैशाख १० गते एकता भई जनता समाजवादी पार्टी नेपाल बन्यो । दुई पार्टीको एकताको सहमति पत्रमा लेखिएको छ ः देशमा सात दशक लामो संघर्ष र बलिदानी पश्चात संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । विश्वमा विकसित नवीनतम लोकतान्त्रिक मूल्य र मान्यताको दृष्टिले केही अपूर्णता रहेपनि यो आजसम्म नेपाली जनताले प्राप्त गरेको सबैभन्दा महत्वपूर्ण उपलब्धि हो । यसलाई अझ विकसित गर्दै पहिचानमा आधारित संघीयता, सहभागितामूलक समावेशी लोकतन्त्र, बहुराष्ट्रिय राज्य सुहाउँदो समाजवाद, सामाजिक न्याय, सुशासन, समृद्धि र बहुसाँस्कृतिक राष्ट्रवादको विकास गर्न जरुरी छ ।

सहमति पत्रमा लेखिएको बहुराष्ट्रिय राज्य सुहाउँदो समाजवाद शब्दको बिरुद्ध केही मान्छेहरुले आपत्ती जनाए र यसलाई राज्य बिखण्डनकारीको समेत आरोप लगाए । केहीले दल दर्ता खारेजीको लागि निर्बाचन आयोगमा निवेदन बोकेर गयो । सामाजिक सञ्जालमा यसको पक्ष र विपक्षमा तर्क बितर्क भएको देखियो । बहुराष्ट्रियता सम्बन्धी बुझाईमा यति धेरै दरिद्र सोच हुनु ज्यादै दुःखदायी कुरा हो । किनकि बहुराष्ट्रियता बहुसाँस्कृतिकवादकै राजनीतिक अभिब्यक्ति हो । जसलाई नेपालको संविधानले स्वीकार गरेको छ । यसले इतिहासको विभिन्न कालखण्डमा भएको आन्दोलन, संघर्ष, युद्ध र सम्झौता आदिका कारण एउटा देशभित्र समेटिन पुगेका फरक फरक तर समरुप मानव समुदायको अस्तित्व, पहिचान र तिनको मूल्य÷मान्यतालाई आत्मसात गर्दछ । त्यसमा पनि अहिले नेपाल संघीय मुलुक हो । बहुराष्ट्रियताले संघवादको मान्यता अनुसार विविधता र भिन्नपनको सम्मान गर्दै सबैमा साझा देशभक्तिको भावना विकास गर्दछ । राज्यलाई खण्डित गर्ने होइन कि अझ बलियो बनाउँदछ । यही कुरालाई केहीले बुझेर बुझ पचाए । केही अर्काले उचालेको भरमा नबुझिकन सडकमा उफ्रिए । आज संघीयता पूर्ण रुपमा कार्यान्वयन हुन नसक्नुका पछाडि यही कमजोरी मूख्य कारण हो । किनकि राज्यको पुनसंरचना गर्नु अघि समाजको विविधतालाई ठीक ढंगले बुझ्नु जरुरी हुन्छ । जब समाजलाई नै ठीक ढंगले बुझिएन भने रोगको पहिचान नै नगरी डाक्टरले इलाज गरे जस्तो हुन जान्छ । जसले रोग ठीक हुने नभई पटक पटक बल्झिने र त्यही कारणबाट बिरामी मर्ने सम्मको स्थितिमा पुग्दछ । नेपालले अहिले भोगेको नियती यही हो । पुनसंरचना एउटा गरियो, बुझाई अर्को रह्यो । एउटै राजनैतिक प्रशासनिक भूगोलमा एकल राष्ट्रको विपरित एकभन्दा बढी राष्ट्रहरु छन् भने त्यस्तो राज्यलाई बहुराष्ट्रिय राज्य (Multi-National State) भनिन्छ । नेपाल, भारत बहुराष्ट्रिय राज्य हुन् । विश्वमा यस्ता बहुराष्ट्रिय राज्यहरु धेरै छन् । नेपाल देशभित्र आधुनिक नेपाल निर्माण पूर्वको सभ्यताले विकास गरेको लिम्बुवान, किरात, ताम्सालिङ, मगरात, तमुवान, थरुहट, खसान जस्ता ऐतिहासिक राष्ट्रहरु आजपनि जीवित छन् । जसलाई राज्यले मान्यता नदिँदैमा मेटिदैन ।

नेपालको संविधान धारा ३ मा राष्ट्रको परिभाषा यस्तो छः बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतमा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनिएको छ । त्यस्तै संविधानको धारा ४ मा (१) नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्म निरपेक्ष, समावेशी, लोकतन्त्रात्मक समाजवाद उन्मूख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनिएको छ । तसर्थ, जनता समाजवादी पार्टीको बहुराष्ट्रिय राज्य सुहाउँदो समाजवादको चाहनाले नेपालको संविधानले गरेको बहुल विशेषताको राष्ट्रको परिभाषालाई राजनीतिक भाषामा प्रष्ट पार्न खोजेको मात्र हो । यो शब्द संविधानको दायराभन्दा बाहिर छैन । अर्को संविधानको धारा ४ मा लेखिएको लोकतन्त्रात्मक समाजवाद भनेको पुँजीवाद नै हो । यसले न बजारमा राज्यको हस्तक्षेपलाई स्वीकार गर्छ न सामूहिकीकरणको लागि बल प्रयोग नै गर्छ । त्यसैले संविधानमा लेखिएको समाजवाद शब्द आकासको फल आँखा तरी मर भन्ने उखान जस्तो मात्रै हो । यो नेपालको संसदवादी बुर्जुवा पार्टीका नेता र केही ब्यापारीको मिलोमतोमा षडयन्त्रपूर्ण ढंगबाट लोकतान्त्रिक जनआन्दोलनमार्फत ब्यक्त जनताको जनादेशलाई आँखामा छारो हाल्नको लागि समाजवाद लेखिदिएका हुन् । सिङ फुक्लिएको साँढे भन्दा सिङको कुरा त आयो तर कस्तो सिङ भन्दा पहिले नै फुक्लेको सिङ भनेपछि त्यसले त हान्न सक्दैन । अहिले हामी केही मान्छेहरु संविधानमै समाजवाद लेखियो भनेर खुशी हुन्छौ । तर ब्यबहारमा जताततै निजीकरण भइरहेको देख्छौ । यो चरित्र देखिनु संविधानको लोकतान्त्रिक समाजवादको कमाल हो ।

त्यसैले नेपाल बहुराष्ट्रिय राज्य भएपनि यसको मर्म र भावना विपरित नेपालको एकल राष्ट्रिय राज्यको शासन ब्यवस्थाले त्यस्ता फरक फरक मानव समुदायको विविधतालाई मूल प्रवाहीकरणको नाममा एउटै धारमा हिडायो । राज्यको सबै अंगमाथि एउटै समूहले नियन्त्रण कायम गर्यो । सबै मान्छेलाई एउटै भाषा बोल्ने, एउटै संस्कृति, एउटै धर्म मान्ने र एकैखालको सोचाई बोक्ने बनाउनु नै एकल राष्ट्रियता पक्षधरको अन्तर्निहित उद्देश्य हो । जसरी नेपालको सन्दर्भमा २५० बर्षदेखि यहाँको विविध पाटा, पक्षहरुलाई एउटै खस हाँडीमा हालेर घोल्ने र त्यसबाट एउटै हिन्दू रंग निकाल्ने प्रयत्न गरियो । यसले भूँसको आगो झैँ सल्किरहेको नेपालको आन्तरिक द्वन्द्वलाई कहिल्यै समाधान गर्न सकेन ।

अहिले जो बहुराष्ट्रियताको विरोध भइरहेको छ । त्यो काम एकल राष्ट्रियताको पक्षधरहरुले नै गरेका हुन् । बिगतमा राजालाई राष्ट्रिय एकताको प्रतिक मान्ने र राजा नहुँदा राष्ट्रिय एकता खल्बलिने भ्रम छर्ने यही स्कूलको हाइब्रिड प्रोडक्टहरु बहुराष्ट्रियताको बिरोधमा उर्लिएका छन् । जसले जनता एकठाउँमा नहुँदा राष्ट्रिय एकता कमजोर हुन्छ भन्ने सत्य कहिल्यै देख्दैन । ओली र महेन्द्रलाई राष्ट्रवादी देख्ने नजरिया एउटै हो । यही नजरको बाजे पुस्ताले जंगबहादुर राणालाई राष्ट्रवादी भनेका थिए । एकल राष्ट्रियताको कनेक्सन खोज्दा महेन्द्र र जंगबहादुर राणासम्मै जोडिन्छ । किनकि यो अतिवादी दृष्टिकोणको जरा हिन्दू बर्णाश्रमयुक्त अहंकारी जातिवादी ब्यवस्था हो । यो जराले नेपालमा २५० बर्ष लगभग एकल शासन चलायो र नेपाललाई कहिल्यै बन्न दिइएन । मान्छेलाई कामको आधारमा जात विभाजन गर्नुका साथै पानी चल्ने र नचल्ने बनाएर ऐतिहासिक अपराध गर्यो । यसले गर्दा यहाँको समाजलाई यतिसम्म अन्धो बनाइदियो कि राष्ट्र र राज्य, जात र जाति पनि छुट्याउन नसक्ने बनायो । यसले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भूगोललाई राष्ट्र ९ल्बतष्यल० देख्यो र यहाँको माटोमा विकसित सभ्यताहरुलाई जात (Caste) भन्यो । राष्ट्रको विश्वब्यापी परिभाषा अनुसार नेपालको विभिन्न सभ्यताबाट फुलेको भाषा, संस्कृति, भूगोल, मनोविज्ञान र आर्थिक ब्यवस्थाको आधारमा एकठाउँ बस्न चाहने आत्मिक भावना नै राष्ट्र (Nation) जाति हो भन्न सकेन । यो चेतको उल्टो बुझाईले गर्दा नै पञ्चायतमा राजा महेन्द्रले पकाएको राष्ट्रवादको खिचडी आज गणतन्त्रमा पनि पाक्दैछ । देशको मुटु (राष्ट्र) हरु भाँडिएपछि न देश बन्यो, न समाज नै उँभो लाग्यो ।

Comments

comments

Read More