कुयाङ लामा एक्लैले गरे ८२ जना पत्रकारको कोरोना बिमा

१८ जेठ, काठमाडौं/

नेपाल तामाङ घेदुङका पुरातत्व तथा अनुसन्धान विभाग प्रमूख कुयाङ लामा एक्लैले देशभरका ८२ जना क्रियाशिल तामाङ पत्रकारहरुको कोरोना बीमा गरिदिएका छन् । आज नेपाल तामाङ घेदुङको सभाहलमा सामाजिक दूरी कायम गर्दै एक कार्यक्रमको आयोजना गरी उक्त बीमा बापतको रकम तामाङ पत्रकार संघको अध्यक्ष विष्णु तामाङलाई हस्तान्तरण गरेका हुन् ।

लामामार्फत प्राप्त भएको ८२ जना तामाङ पत्रकारको कोरोना बीमा वापतको रकम रु. ४९२००/– र १०० थान के.एन. मास्क आज घेदुङका बरिष्ठ उपाध्यक्ष बेली लामा तामाङले पत्रकार अध्यक्ष तामाङलाई हस्तान्तरण गरे ।

कोरोनाको महामारीमा तामाङ पत्रकारहरु अत्यन्तै जोखिम उठाएर समाचार संकलन तथा सम्प्रेषणको काममा लागिरहनु भएको हुँदा उहाँहरुको बीमा गरिएको विभागीय प्रमूख लामाले बताए । यसअघि लामाले नेपाल सरकारको कोरोना राहत कोषका लागि रु. ५ लाख रकम समेत हस्तान्तरण गरेका छन् ।

कार्यक्रमको संयोजन नेपाल तामाङ घेदुङको उपाध्यक्ष कुमार घिसिङ र सञ्चार विभाग प्रमूख जगत दोङले गरेका थिए । उपाध्यक्ष विसिङले विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको सबैभन्दा अग्रभागमा रहेर काम गर्नुहुने पत्रकार असुरक्षित हुने हुँदा यो कार्यको संयोजन गर्न आवश्यक रहेको बताए ।

हस्तान्तरित जीवन विमा वापतको रकम र मास्क लिँदै तामाङ पत्रकार संघका अध्यक्ष विष्णु तामाङले दाता कुयाङ लामा र नेपाल तामाङ घेदुङ संघीय कार्यालयलाई धन्यवाद ज्ञापन गरेको छ । धन्यवाद पत्रमा नेपाल तामाङ घेदुङको हरेक गतिविधिमा विगतदेखि तामाङ पत्रकार संघले सहयोग गर्दै आएको र आगामी दिनमा अझ यसखालको सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।

बीमा रकम हस्तान्तरण कार्यक्रममा नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ, सचिव रामकृष्ण ब्लोन, कोषाध्यक्ष रुप योन्जन र विदेश विभाग प्रमूख टासी लामा सहित विभिन्न मिडियामा कार्यरत तामाङ पत्रकारहरुले सामाजिक दूरी कायम गर्दै सहभागिता जनाएका थिए ।

Comments

comments

Read More