रुकुम हत्याकाण्डको विरोधमा सिन्धुपाल्चोकमा प्रदर्शन

लामोसाँघु, सिन्धुपाल्चोक : १९ जेष्ठ २०७७:

रुकुम हत्याकाण्डका विरोधमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकामा प्रदर्शन गरिएको छ । हत्यामा संलग्न दोषीहरुलाई कडा कारवाहीको माग गर्दै आज सुनकोशी, ठोकर्पाका दलित समुदायले प्रदर्शन गरेका हुन् । उनीहरुले उक्त घटनामा संलग्न अपराधीको पहिचान गरि तत्काल सजाय दिन सरकारसँग माग गरेका छन् ।

वडा नं १ र २ का दलित समुदायले विभिन्न सन्देशमुलक प्लेकार्ड बोकी ठोकर्पा गाउँ परिक्रमा गरि कोणसभा गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै उनीहरुले हत्यारालाई कानुन अनुसार कारवाही नगरे दलित समुदायले चरणबद्ध आन्दोलन गर्ने चेतावानी दिए । दलित अगुवा बिनोद सेन्चुरीले रुकुम हत्याकाण्ड दलितको मात्रै नभएर न्यायप्रेमी गैरदलितको पनि भएको भन्दै जातका आधारमा हत्या गर्नु अति निन्दनीय र क्रुर अमानवीय अपराध भएको बताए ।

दुर्गम गाउँ ठोकर्पाका दलित समुदायका दर्जनौ व्यक्तिहरुले निकालकोे प्रर्दशनमा गैरदलित समुदायका व्यक्तिहरुले पनि साथ दिएका थिए । उनीहरुले हत्यारालाई कारवाही गर्न ढिला भएको भन्दै सामाजिक दुरी कायम गर्दै शान्तिपूर्वक प्रर्दशन गरेका छन् । उनीहरुले वडा नम्बर १ का अध्यक्ष नेत्र कार्कीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

गत जेठ १० गते प्रेमिका लिन गएका नवराज बिक र उनका साथीहरुको सामूहिक रुपमा हत्या भएको थियो । मल्ल थरकी प्रेमिकाका अभिभावक र गाउँले मिलेर नवराज र उनका साथीहरुलाई घरेलु हातहतियार, ढुङगामुढा गरि लखेटेर हत्या गरि भेरीनदीमा फालेको अभियोग छ ।

जाजरकोट नगरपालिका ४ का नवराज बिक, गणेश बुढा, सन्दिप बिक, वडा नम्बर ११ का लोकेन्द्र बिक, स्कुम पश्च्यिम चौरजहारी नपा १ का टिकाराम सुनारलाई चौरजहारी नपा ८ सोतीका स्थानीयले आक्रमण गरि हत्या गरेको आरोप छ । भेरी नपा ११ का गोबिन्द शाही अझै बेपत्ता छन् ।

Comments

comments

Read More