हलो र गोरु हराए गाउँमा, ट्याकटरले जोतेको खेतमा के उब्जनी होला र ?

केशबराज चौंलागाँई

३० जेठ । आत्मा निर्भर कृषि भनेर समवन्धित निकायहरु ढ्वाङ पिटिरहेका छन । उता कृषकहरु दिनानुदिन पर निर्भर बनाईंदै छ । देश काल परिस्थिति, भुगोल, हाम्रो रितिथिति परम्परा आदिलाई पटक्कै वास्था नगरेर मुर्खता शव्दको अपमान हुनेगरी हामी मुर्खता गरिरहेका छौं ।
विशेषगरि पहाडी भुभागमा प्रत्येक घरमा एकहल गोरु हुन्थे, थोरै जग्गा हुनेहरुले एक, एकवटा गोरु पालेर हल वांधेका हुन्थे । स्थानीय सामाग्रीको प्रयोग गरेर हलो जुवालगायतका औजारहरु तयार गरिन्थ्यो । श्रम वाहेक लगभग शून्य लागतमा चलेको थियो हाम्रो कृषि प्रणाली । एकजना हली भए जमीन जोत्ने कार्य सम्पन्न हुन्थ्यो । गोरुसंग बातमार्दै सुस्तरी काम गर्दा दुनियाले अनुभुत गर्न नसक्ने मनोरन्जन प्राप्त हुन्थ्यो । गहिरो जोतिने हुंदा वर्षै पिच्छे फरक फरक माटोको रस खान पाउँदा खाध्यन्न स्वस्थ र प्राकृतिक हुने गर्दथ्यो । किसानहरु दीर्घजीवी हुन्थे । विषादीहरुको प्रयोग नहुंदा वातावरणीय स्वच्छता कायम रहन्थ्यो । स्थानीय वीउविजनको संरक्षणले माटोको शक्ति ह्रास भएको थिएन । प्रत्यक्ष आम्दानी कम देखिए पनि लागत शून्य हुने हुंदा नोक्सानी पटक्कै थिएन ।

अचेल कृषीको यान्त्रीकरण तिव्र गतिमा अगाडि बढेको छ । कृषि फेरि पनि निर्वहामुखी नै छ । कतै कतै व्यबसायिक खेती शुरु भएको त छ तर वजारको शुनिश्चितताको अभावले वास्तविक किसानहरुको लागत डुवानमा परेको छ । कतै कालो धनलाई श्वेत वनाउने मनसायले कथित कृषिफार्महरु स्थापना गरेको पनि देखिन्छ तिनीहरु पनि कागजी मुनाफामा मात्र रमाएका छन । फार्म उराठिला छन । सरकारी अनुदान पचाउंन भने शफल भएका छन त्यस्ता कृषि फारमहरु वास्तविक किसानका फार्महरुको सरकारी अनुदानमा पहुंच पुगेको देखिन्न । ९०५ किसान निर्वहामुखी कृषिमा व्यस्त छन । अव यो यान्त्रीकरणको हौवाले निर्वहा समेत नहुने अवस्थामा गुज्रिरहेका छन साना किसानहरु । त्यसैले उनीहरु विकल्प खोज्न बाध्य भएका छन । खेतवारी बंझिदै गएका छन ।
हलोलाई हाते ट्रयाक्टरले विस्थापन गरिरहेको छ । कम्तीमा ५०,००० मूल्य पर्छ मेसिनको । तेल र पाटपुर्जा खरिद तथा मर्मत खर्च एक यामको खेति लगाउंदा कम्तीमा १०,००० खर्च लाग्ने गर्छ । सामान्यतया ती मेसिनहरु एक, दुई वर्ष सम्मलाई मात्रै काम लाग्ने खालका छन । बिग्रे पछि मर्मत गर्नु भन्दा नयां किन्नु उचित हुन्छ । मेसिनले जमिन जोत्नु भन्दानि कोट्याउने मात्र कार्य गर्नेहुंदा माटोको उर्वरा शक्ति छिटै नाश हुने पक्का छ । हाईव्रिड बीउ, मेसिनको जोताई, किटनाशक प्रयोग आदिले जमिनको मरुभुमिकरणलाई तिव्रता दिएको छ ।

गोरु प्रयोग गर्दा एकजना हलीले सबै काम सम्पन्न गथ्र्यो । हाम्रो पहाडी भुगोलमा मेसिनलाई खेतवारी सम्म लैजान २ जना वलिया मान्छे चाहिने, उकाल्न ओराल्न कठिन हुने, भाडामा लगाउन नि प्रति घण्टा ७,८ सय लाग्ने । जमिन जोत्न भन्दा पनि ओसार पसारमा बढी समय लाग्ने । अझ महिला बालबालिका मात्र भएको परिवारले त खेती पाती फर्केरै नहेरे हुने । अन्यत्र बनीबुथो गरेर कमाएको पैसा त्यहा लगानी गर्नु भन्दा वांझो राख्नु उचित भएकैले गाउंघरमा खेती बंझिदै गएका छन । खेतिको आम्दानी भन्दा दोब्बर लगानी हुँदै गएको छ हाम्रो कृषि प्रणाली ।

अपवाद वाहेक, शहरी जीवन शैलीमा हुर्केका महामहिमहरु कृषिका योजनाकार र कृषि गुरु वनेर किसानहरुलाई उपदेश छांटीरहेका छन । जसले नाङ्गा पैतालाले माटो कुल्चिएकै छैनन । मेसिन, बीउ, मल, आदि सबै कुरामा विदेशको निगाहमा जीउनु पर्ने यो मुलुकमा सरकार, सरकारी विद्वान र अन्य उपबुर्जुकहरु आत्मा निर्भर कृषिको राग अलापीरहेका छन । मुलुकको यो दारिद्रक सोचले गर्दा विदेश र विदेशी रिसाएको दिनमा सबै जमिन बांझो हुने कहाली लाग्दो परिदृश्य सन्निकट देखिदै गएको छ । गोरु पुजा गर्ने संस्कृति भएको मुलुकमा गोरु हेर्न चिडियाखानामा जानुपर्ने स्थिति नआउला भन्न सकिन्न । सकिन्छ भने सम्वन्धित निकायले वेलैमा गोरुले तान्न मिल्ने आधुनिक हलोको विकासमा ध्यान पुरयाओस । ईच्छा हुंदा हुँदै पनि गोरुको प्रयोग गरेर खेति गर्नु कागको हुलमा बकुल्लो हुने त्राश बढेको छ । म पनि यान्त्रीकरणको दास बनेको छु ।

Comments

comments

Read More