आदिवासीवादबारे : सिङ्ग मोक्तान तामाङ

काठमाडौं २५ असार २०७७: आदिवासीवादबारे केही कुराहरु मेरा अघिल्ला लेखहरुमा पनि उल्लेख भईसकेको भए त पनि यो दर्शन त्यत्तिमा मात्र सिमित थिएन किनकि आदिवासीवाद दर्शन कुनै जड दर्शन नभएर निरन्तर विकास हुने दर्शन हो। यसको निरन्तर विकास,निरन्तर प्रयोग र निरन्तर रक्षा जरुरी छ।जो हामीले गर्नेपर्छ।

यस लेखमा मैले आदिवासीवादको तत्व मिमांसा,ज्ञान मिंमासा,आचार मिंमासाबारे र आदिवासीवाद दर्शनका चार अंगहरु बहुलराष्ट्रवाद,संघीयवाद,सामूदायिक समाजवाद र वैज्ञानिक प्रकृतिवादबारे चर्चा गर्ने प्रयत्न गर्नेछु।

क) आदिवासीवादको तत्वमिमांसा,ज्ञानमिंमासा,आचारमिंमासाबारे:

१)आदिवासीवादको तत्वमीमांसा:तत्वमिंमाशाले कुनै चीजको सृष्टि कसरी हुन्छ वा त्यसको तत्वहरु के के हुन सक्छ?भन्ने विषयमा आफ्नो धारणा व्यक्त गर्ने गर्दछ। यस सम्बन्धमा आदिवासीवाद दर्शनको स्पष्ट धारणा रहेको छ कि कुनै पनि वस्तु वा चेतनाको उत्पत्ति प्राकृतिक कारणबाटै भएको हो र प्रकृतिकै कारण कुनै पनि वस्तु र चेतनाको सृष्टि सम्भव भएको हो। आदिवासीवाद प्रकृतिलाई प्रधान मान्ने अद्वैतवादी दर्शन हो। तथाकथित भौतिकवाद र आदर्शवाद वा ईश्वरवादको विकल्प हामीसँग सधैँ नै थियो। यस सम्बन्धमा भाषाविद अमृत योन्जन तामाङ आफ्नो पुस्तक ताम्बा दर्शनमा लेख्छन।”दाङबो तोङबा राङसिङरिदोर्जेग्याडम लुङ छ्याजिम लुङला थोरि मे छ्याजिममेला थ‍ोरि क्युई छ्याजिमक्युईला थोरि सा छ्याजिम रिग्याल लोङबो गाङ छ्याजिमलिङसि लिङठान गे छ्याजिमस्यार लो नुप ज्याङ छोसेरिडुवारिडुक मि छ्याजिमतोरसे तेङरि ला छ्याजिममारसे होगरि लु छ्याजिम तोरसे बाररि चान छ्याजिम”अर्थात्”उहिले अनादि शून्य अवस्थामा हावाको दोर्जेग्याडम(आकार)बनेछहावामाथि आगो बनेछआगोमाथि पानी बनेछपानीमाथि पृथ्वी बनेछसुमेरु पर्वत बनेछचार दिशा चार कोण बनेछ पूर्व दक्षिण पश्चिम उत्तर दिशामा प्राणी र मान्छे बनेछनमास्तिर आकाशमा देउता बनेछतलतिर पतालमा नाग बनेछमाथि अन्तरिक्षमा शिकारी देउता बनेछ।” जसअनुसार पृथ्वीको सृष्टि वा उत्पत्ति प्राकृतिक कारणले भएको हो। कुनै ईश्वरीय देन वा माक्सवादी वा उदारवादीहरुले भनेजस्तो तथाकथित वस्तुको कारण वा भौतिकवादी कारणबाट होईन।

त्यसैगरी मुन्दुममा उल्लेख गरिएको सृष्टि सम्बन्धि कुरा कान्तिपुर दैनिकमा २९ फाल्गुन,२०७६ प्रकाशित आफ्नो लेखमा जितराज राईलाई स्रोत मान्दै मुन्दुम अनुसन्धानकर्ता भोगिराज चाम्लिङ लेख्छन्;”उहिले आकाश भत्किएर यो धर्ती बनेको हो। यो धर्तीमा खाल्डो भयो। त्यो खाल्डोमा पानी उब्जेर तलाउ भयो। तलाउ माझमा लेउ उब्ज्यो। लेउ बढ्दै,कक्रिँदै गयो। कक्रिएको लेउमाथि निगुरो र दुबो उब्जियो। दुबो त पाँजिएर डाला हान्दै लहलह बढ्दै तलाउ छेउको भूमिमा जरा गाडेर साँघु (पुल)जस्तो झ्यांगियो। बूढोपाको भएर मरेपछि निगुरोको जरा खाँदै जाँदा धमिराले भूमि(माटो)भेट्टायो। पानीभित्रबाट माटो खाँदै थुपार्दै मकाएको निगुरोको फेदबाट पानीमाथि देवल झिक्यो।त्यो देवललाई माथिबाट घामको तापले ततायो,तलबाट चिसो पानीले भिजायो।तातो–चिसोले भेटेको देवलको माझमा प्रकृतिले नाभि बनायो।त्यो नाभिमा सृष्टिको पहिलो मानव आमा चिनिमा पैदा भइन।”त्यसैगरि सृष्टिसम्बन्धि नै मुन्दुममा रहेको अर्को धारणाबारे गडुलमान राईलाई स्रोत मान्दै चाम्लिङ थप लेख्छन।”अर्को मुन्दुमी अवधारणाअनुसार सुरुमा यो संसारमा पानी-पानी थियो।त्यो पानीको फिँजबाट दर्सनढुंगा उत्पत्ति भयो।त्यो ढुंगोको चेपमा ठाडो उन्यु उम्रियो।उन्यु बूढो भएर झरेको पातमा धमिरा पैदा भयो।धमिराले पानीमुनिबाट माटोको ढिस्को बनायो जहाँ निभू च्याउ उम्रियो।च्याउमा खुम्लेकीरा उत्पत्ति भयो।त्यो खुम्लेकीराबाट रिभ्याँमा(चेली) र रिकपा (माइती)पैदा भए।”यी दुई भनाईअनुसार पनि पृथ्वीको सृष्टि प्राकृतिक कारणबाट भएको हो।

२)आदिवासीवादको ज्ञानमीमांसा: प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अनुभूत र अनुभवबाट प्राप्त ज्ञान अर्थात् प्रकृतिसँगको घर्षणसगैँ प्राप्त ज्ञान आदिवासीवादले स्वीकार्दछ।नदेखिएका तर वैज्ञानिक कुरा वा ज्ञानलाई आदिवासीवादले वैज्ञानिक भन्दछ।उदाहरणको लागि ताम्बाका निम्न उद्वहरणलाई लिन सकिन्छ।”दोनगि दोप्ता ठि ङाप्तायुलगि चोहो रेम्बोर्छेग्यागर युल्ला सङरिताबोनबोईयु नाङला नरुबोनरोङसुम नाङला मिछ्येनबोनमिछ्येन नोर्बु स्यालकार्पो गान्बा गन्सुम फ्याफुल्ला।”अर्थात् विद्वान वर्ग,ध्यानी गाउँका प्रमुख मान्यजनमधेसका सभ्य झाँक्रीभोटदेशका वनझाँक्री तीन पर्वतका तान्त्रिक झाँक्रीश्रेष्ठ,पाका,सज्जनगणबुढापाका सबैलाई नमस्कार गर्दछु।जसमा नदेखिएका तथा वैज्ञानिक वा सत्य ज्ञानका ज्ञाताहरु सभ्य झाँक्री,वनझाँक्री,तान्त्रिक झाँक्रीलाई पनि नमस्कार टक्राएको छ।वास्तवमा सभ्य झाँक्री,वनझाँक्री,तान्त्रिक झाँक्री भनेको सर्वज्ञाता मानव पूर्खाहरु नै हुन।जसले अदेख्य रुपमा आफ्नो ज्ञानहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्ने गर्दछ।जुन कुरा तथाकथित भौतिकवादीहरुको लागि अवैज्ञानिक कुरा हो।आदिवासीवादीहरु ज्ञानको प्रमुख स्रोत नै प्रकृतिलाई मान्दछ।आदिवासीवाद बहुलराष्ट्रिय प्राकृतिक भौतिकवादमा विश्वास गर्दछ।वास्तवमा संसारका सबै दर्शनको मुख्य स्रोत प्राकृतिक भौतिकवाद भएपनि गोरावादी,ब्राह्मणवादी र पुरुषवादी लगायतका शाषकहरुले आफ्नो साम्राज्य वा सत्ता टिकाउँनको लागि तथाकथित ईश्वर खडा गरे र तिनैको थप विस्तारको लागि नै तथाकथित भौतिकवादको थप विकास गरे।त्यसको जगमा माक्र्सवाद र उदारवादको विकास गरे।तिनै माक्र्सवाद,उदारवादको जमा पहिर्याउँदै गोरावाद,ब्राह्मणवाद र पुरुषवाद उत्पिडित जाति,वर्गमा लाद्नेहरुलाई आदिवासीवादीहरुले नवगोरावादी,नवब्राह्मणवादी नवपुरुषवादी भनेर किटानी गरेको छ।र त्यसको विकल्पमा प्राकृतिक भौतिकवादलाई बलियो रुपमा उभ्याएको छ।

३)आदिवासीवादको आचारमीमांसा: आचारमिंमासाको क्षेत्रमा आदिवासीवादीहरु राष्ट्रिय सामूहिकतामा जोड दिने गर्दछ।आदिवासीवादीहरु राष्ट्रिय सामूहिकतामा आधारित सामुदायिक समाजवादको पक्षधर भएकोले आदिवासीवादीको आचारण सामूहिकवादी हुनुपर्ने र त्यो सामूहिकता माक्सवादीहरुले भनेजस्तो वर्गिय सामूहिकता नभई राष्ट्रिय सामूहिकता हो।अर्थात् बहुलराष्ट्रिय सामूहिकता हो।

ख)आदिवासीवाद दर्शनका चार अङ्गबारे:

१)बहुलराष्ट्रबाद र बहुलराष्ट्रिय लोकतन्त्रबारे:बहुलराष्ट्रवाद भनेको तीन वा तीन भन्दा बढी जाति वा राष्ट्रको अस्तित्वलाई वा सत्तालाई स्वीकार्ने बिचार हो।बहुलराष्ट्रवाद आदिवासीवाद दर्शनको मुटु नै हो।बहुलराष्ट्रवादले बहुलराष्ट्रिय लोकतन्त्रलाई अंगीकार गर्दछ।जसअनुसार कम भन्दा कम जनसंख्या भएको जाति वा राष्ट्रले समेत आफ्नो सत्ता सन्चालन गर्न पाउँनेछ।र सबै राष्ट्रलाई समान हैसियतको रुपमा स्वीकार्दछ।

  • केन्द्रको अधिकार विकेन्द्रीकरण गर्ने।
  • स्थानीय सत्ताको अर्थात स्वशासनको अभ्यास गर्ने।
  • ताम्सलिङ,मगरात,नेवा:,खम्बुवान,लिम्बुवान,थरुहट,मधेस,तमुवान,खशान ईत्यादिको अस्तित्व स्वीकार गर्ने।
  • बहुलराष्ट्रवादको विधिअनुसार संघीयताको अभ्यास गर्ने।

३)सामूदायिक समाजवाद:

सामूदायिक समाजवाद राष्ट्रिय वा जातीय सामूहिकतामा आधारित समाजवाद हो।जसले समूदायमा रहेको सबै बहुलराष्ट्र वा जातिहरुको मौलिक अर्थप्रणालीलाई स्वीकार गर्दछ।

  • स्थानीय स्रोत साधनको मालिक स्थानीय जाति,राष्ट्र वा समूदाय नै हुने व्यवस्था।
  • बहुलराष्ट्रहरुको मौलिक अर्थप्रणालीको अभ्यास गर्न पाउँने व्यवस्था।
  • ब्यक्तिवादको विकल्पमा जातीय वा राष्ट्रिय सामूहिकताको अभ्यास गर्न पाउँने अर्थात् बहुलराष्ट्रिय सामूहिकताको अभ्यास गर्न पाउँने व्यवस्था।

४)वैज्ञानिक प्रकृतिवाद:

वैज्ञानिक प्रकृतिवाद आदिवासीवादको उच्च विन्दु हो।जसको विकास मैले गरेको हुँ।जुन आदिम प्रकृतिवादको विकसित रुप हो।जसले तथाकथित विकास,संवृद्वि,व्यक्तिवादको नाममा प्रकृतिमाथि भईरहेको दोहन विरुद्धमा आवाज उठाउँदछ।र त्यसको विकल्पमा प्रकृतिमैत्री समाज व्यवस्थाको परिकल्पना गर्दछ।

  • प्रकृतिमैत्री समाज हुनेछ।
  • शोषणकारी आधुनिक राष्ट्र-राज्यको अन्त्यको अवस्था हुनेछ भने त्यसको विकल्पमा प्राकृतिक सत्ता पूनर्स्थापित हुनेछ।
  • सबैखाले विभेद(जातीय,वर्गीय,भाषिक, धार्मिक,लिङ्गीय, क्षेत्रीयको अन्त्यको अवस्था हुनेछ।नकि आर्थिक विभेद मात्र।
  • व्यक्तिवादको पूर्ण निषेधको अवस्था।

अन्त्यमा, आदिवासीवाद दर्शनलाई कुनैँ जड दर्शन र आदिवासीको दर्शनको रुपमा मात्र नलिअौं।यसको थप विकासको लागि सबै बहुलराष्ट्रहरु निरन्तर रुपमा अघि बढौं।थुजेछे।

(लेखक आदिवासीवाद दर्शनका विद्यार्थी हुन्।)

Comments

comments

Read More