जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

साउन ३२, २०७७ । नेपाल तामाङ घेदुङ इजरायलले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. २ लिदि गाउँका पहिरो पीडितलाई नगद सहयोग उपलब्ध गराएको छ ।

इजरायल घेदुङले संस्थागत र ब्यक्तिगत समेत गरी संकलन गरेको जम्मा रकम रु. एकलाख २५ हजार नौ सय २० रुपैयाँ आइतबार सिन्धुपाल्चोक घेदुङका अध्यक्ष रेशम स्याङ्बोलाई हस्तान्तरण गरिएको घेदुङका महासचिव महितकुमार तामाङले बताए ।

कोरोना महामारी र बर्षातले बाटो भत्किएको कारण त्यहाँ पुग्न गाह्रो भएको हुँदा आज नै राहत सामाग्री लिएर हेलिकोप्टरमार्फत जिल्ला अध्यक्ष स्याङ्बो लिदितर्फ जाने क्रममा उहाँलाई रकम हस्तान्तरण गरी पठाएको महासचिव तामाङले बताए । हस्तान्तरण कार्यक्रममा घेदुङको उपाध्यक्ष कुमार घिसिङ र कोषाध्यक्ष रुपबहादुर योन्जनको समेत उपस्थिति रहेको थियो ।

राहत रकम बुझ्दै जिल्ला अध्यक्ष रेशम स्याङ्बोले पीडित परिवारलाई तत्काल ओढ्ने, ओछ्याउने, लगाउने कपडा र घेवा खर्चको अभाव रहेको हुँदा सो को लागि दामासाहीले नगद नै हस्तान्तरण गर्ने बताए । उहाँले जिल्ला घेदुङको तर्फबाट गुम्बामा मृतकको सामूहिक घेवा गरिने समेत प्रतिवद्धता ब्यक्त गरे ।

यसैगरी नेपाल तामाङ घेदुङ इजरायलका अध्यक्ष अनिला मोक्तान तामाङले साउन ३० गतेको पहिरोबाट अकालमा ज्यान गुमाएका सबैमा हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेको छ । उहाँले पठाउनु भएको नोटमा यस घटनाबाट आफूहरु अत्यन्तै दुखित भएको भन्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्नु भएको छ ।

अध्यक्ष मोक्तानले अवका दिनमा यसखालको विपत्ती आउन नदिन नेपाल सरकारले विभिन्न जोखिम क्षेत्रको पहिचान गरी त्यस्तो क्षेत्रमा बसोबास गरिरहेका मानिसलाई यथासिघ्रह सुरक्षित स्थानमा स्थान्तरण तथा पुनःस्थापना गर्न अपील समेत गरेको छ ।

इजरायल घेदुङको पहलमा संकलन भएको रकममा संस्थागत रु. ५० हजार र ब्यक्तिगत तर्फ अनिला मोक्तान, नानीमाया योन्जन, कमला तामाङ, रोजी मोक्तान, माला योन्जन, फुर्वा लोप्चन, उर्मिला पाख्रिन, थुप्तेन लामा, सुनिता मोक्तान, मञ्जु खड्का, लाक्पा स्याङबो, माया ब्लोन, एलिजा दोङ, माया मोक्तान, पेमा पाख्रिन, सीताकुमारी घिसिङ, पदम पाख्रिन, कल्पना मोक्तान, सुरेन्द्र योन्जन, बिबि लामा, केशरी योन्जन, शंकर गोले, अनिता स्याङतान, चित्रकुमारी योन्जन, पासाङ ल्हमु तामाङ, अनिता तामाङ र निङमा घिसिङको समेत रु ७५ हजार ९ सय २० समेत रु. १२५,९२०÷– रहेको छ ।

साउन ३० गते शुक्रबार बिहान गएको पहिरोबाट लिदी गाउँका दर्जनौ घर पुरिदा ३९ जना बेपत्ता भएकोमा साउन ३१ गतेसम्ममा १८ जना र आज थप १ समेत गरी १९ जनाको शव संकलन गरी दाह संस्कार गरिसकिएको उद्दारमा खटिरहेका जुगल घेदुङका अध्यक्ष फुलकाजी स्याङबोले बताए । उनले भने, तीन घर परिवारको पुरै परिवार पहिरोमा परी बेपत्ता भएको छ र अन्य घरको पनि अधिकांश सदस्यहरु बेपत्ता छन् ।

नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र नेपाल तामाङ घेदुङबाट खटिएको युवाहरुको पहलमा खोजी कार्य भइरहे पनि बिकटताको कारण स्काइभेटर, डोजर जस्ता उपकरण ल्याउन नसकिने हुँदा बेपत्ता मानिसहरुको शव संकलन गर्न कठिनाई भएको बताए । उनले भने, एकातिर मानिस र गाईवस्तु समेत पुरिएकोले दुर्गन्ध बढिरहेको छ भने अर्कोतर्फ लिदी गाउँ पुरै शोकमा रहेको कारण स्थानीयको रुवाबासीले शव संकलनमा समस्या आएको छ ।

नेपाल सरकार, प्रदेश र स्थानीय सरकारले राहत तथा उद्दारको लागि केही काम गरिरहेको भएपनि त्यो पर्याप्त नभएको अध्यक्ष स्याङ्बाको भनाई छ ।

लिदी गाउँ तामाङहरुको ज्यादै प्राचीन र ऐतिहासिक स्थान हो । तामाङ भाषामा लि भनेको अनुहार र दि भनेको घाम हुने भएकोले त्यस ठाउँलाई सूर्य उदाउने बित्तिकै घाम अनुहारमा पर्ने गाउँबाट लिदी गाउँ नामाकरण गरिएको बुढापाकाहरु बताउँछन् ।

बर्षौदेखि कुनैखालको पहिरो नगएको स्थानमा यसरी गाउँ नै सर्वनाश हुने गरी पहिरो जानु गाउँदेखि तलको ब्रम्हायणी खोलामा दर्जनौ हाइड्रो पावर सञ्चालन गरेर बम ब्लास्टिङ गर्नु मुख्य कारण रहेको स्थानीयहरु बताउँछन् । स्थानीयले यस अघि नै हाइड्रोको काम गर्ने भए आफूहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न माग गरेपनि कुनै सुनुवाई नभएको उनीहरुको गुनासो छ ।

नाफा र कमिसनको लागि यसरी हाइड्रो सञ्चालन गर्नेमा प्रमूख दलका ठूला र स्थानीय पार्टीका नेताहरुले प्रहरी प्रशासनको समेत मिलोमतोमा जवर्जस्त गरेको हुँदा आफूहरुले केही गर्न नसकेको पीडितले बताए । उनीहरुको एउटै शर्त छ, अब कि हामीहरुलाई पाल्नुपर्छ कि त मार्नुपर्छ ।

उक्त स्थानमा आइएलओ १६९ र आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र विपरित तथा वातावरणीय परिक्षण समेत नगरी स्थानीय आदिवासी समुदायसँग कुनैप्रकारको सहमति नलिईकन दर्जनौ हाइड्रो सञ्चालन गरिएको देखिन्छ ।

लिदी घटना प्राकृतिक जस्तो देखिएपनि मानवीय संरचना निर्माणको कारण विकासको नाममा आदिवासीको विनाश भएको यो एउटा ज्वलन्त उदाहरण हो । यसतर्फ राज्य र समुदाय बेलैमा सचेत नहुने हो भने विकासको नामबाट हुने यसखालको विध्वंश अझै कति घट्ने हुन् थाहा छैन ।

Comments

comments

Read More