रुपा ढुङ्गेललाई मनमाया स्मृति गजल पुरस्कार

फाईल फोटो

हेटौंडा,६ फागुन । माध्यमिक विद्यालय तहको जिल्लास्तरीय गजल प्रतियोगितामा बकैया गाउँपालिकास्थित महेन्द्र माविकी छात्रा रुपा ढुङ्गेल उत्कृष्ट भएकी छन् । गजल मञ्च मकवानपुरको आयोजनामा मकवानपुर जिल्लाका माध्यमिक तहका विजद्यार्थीबीच गराइएको गजल प्रतिस्पर्धामा कक्षा १२ मा अध्ययनरत ढुङ्गेल उत्कृष्ट भएकी हुन् ।

गजल प्रतियोगितामा उत्कृष्ट भएसँगै उनले मनमाया स्मृति गजल पुरस्कार–२०७४ पाउन सफल भएकी हुन् । मकवानपुरे साहित्यकार दीपक गौतमले आफ्नो हजुरआमाको स्मृतिमा स्थापना गरेको पुरस्कार यसवर्ष कक्षा १२ मा अध्ययनरत ढुङ्गेलले पाएकी हुन् । जिल्लाका १४ वटा विद्यालयका छात्रछात्राले भाग लिएको प्रतियोगितामा उत्कृष्ट ५ कविता शनिबार हेटौंडामा आयोजित एक सय ४१ औं गजल यात्रा कार्यक्रमकाबीच बाचन गरिएको थियो ।

५ उत्कृष्ट मध्ये ढुङ्गेलको गजल उत्कृष्ट भएको थियो । प्रतियोगितामा गीतकार तुल्सी घिमिरे, साहित्यकार विश्वनाथ सन्जेल र सुवास खनाल निर्णायकको भूमिकामा रहनु भएको थियो । गजलमा उत्कृष्ट भएसँगै ढुङ्गेललाई कार्यक्रमका प्रमुख अतिथि निमेष निखिल, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी र पुरस्कार संस्थापक दीपक गौतमले संयुक्तरुपमा नगद र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । गजल मञ्च मकवानपुरका अध्यक्ष तिवारीको अध्यक्षतमा भएको गजल यात्रा तथा पुरस्कार वितरण कार्यक्रममा कार्यत्रममा मकवानपुरका करिब डेढ दर्जन गजलकारले आफ्नो रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पुरुषोत्तम आचार्य, यश लामा, चिरन्जीवी लामिछाने, उमेश तिमल्सिना, विशाल अधिकारी, मनु रेग्मी आशा, बालकृष्ण दाहाल, सुनिल गौतम, राज आदित्य, सन्तराम राईलगायतले गजल बाचन गरेका थिए । गजल मञ्च मकवानपुरले हरेक महिनाको पहिलो शनिबार नियमित गजल यात्राको आयोजना गर्दै आईरहेको छ ।

Comments

comments

Read More

Leave a Comment