वाईबा समाज नेपालको प्रथम राष्ट्रिय भेला काठमाडौंमा हुने ।

९ वैशाख , काठमाडौ । माननीय कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यमा वाईबा समाज नेपालको प्रथम राष्ट्रिय भेला यही बैशाख १५ गते शनिवारका दिन स्वयम्भूस्थित स्वयम्भू प्लाजा काठमाडौंमा हुने भएको छ ।
वाईबा समाज भेला आयोजकहरुको एक प्रतिनिधि मण्डलले कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय शेरबहादुर तामाङलाई भेट गरी बधाई ज्ञापन गर्नुका साथ आउदो बैशाख १५ शनिबारका दिन आयोजना हुन गइरहेको वाईबा समाज नेपालको प्रथम भेलामा प्रमुख आतिथ्य ग्रहणका लागि एक निमन्त्रणा पत्र मन्त्रीज्यु समक्ष बुझाएका छन् । वाईबा समाज नेपालका भेला आयोजकहरु पाल्साङबज्र लामा, सूर्यमान तामाङ, मुन्ना वाईबा, मिना वाईबा र बिगेन्द्र सिंह वाईबाले कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय शेरबहादुर तामाङको कार्यकक्षा सिंहदरबार पुगेका थिए ।

नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय मुलुक हो । नेपालमा बसोवास गर्दै आइरहेका बहुजाति मध्ये तामाङजाति भित्रको १२ तामाङ १८ तामाङ भित्र रहेको वाईबा थरका दाजुभाइहरुको वंशीय परम्परागत संस्कार, पद्धति, वंशावली र ऐतिहासिक धरोहरलाई खोज अध्ययन सम्बद्र्धन गर्न तथा स्वाँगेभाईहरु वाईबा, रुम्बा, जिम्बा ग्याबा, टुवा, सुम्बा र मार्फलाई कायम राख्दै वाईबा बंशावली निर्माण तथा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा समेत बसोबास गर्दै आउनु भएका वाईबाहरुलाई संगठित गर्नु अपरिहार्य भएकोले यो “वाअीबा समाज नेपाल”को स्थापनाका लागि प्रस्तावना गरिएको कुरा जानकारी गराएका छन् ।
गत ०७४ चैत्र १६ गते काठमाडौंको बालाजु माछापोखरी स्थित जाम्बुलीङ फिल्मस प्रा.लि.को सभाकक्षामा बसेको वैठकद्वारा आउने वैशाख १५ गतेका दिन “वाईबा समाज, नेपालको प्रथम भेला” आयोजना गर्ने निर्णय गरेका हुन । पूर्व संस्कृति पर्यटन तथा नागरिक उडयान राज्यमन्त्री श्री परशुराम तामाङ वाईबाको प्रमुख आतिथ्यमा वाईबा भेलाका तयारी बैठक बसेका हुन । वैठकले बिभिन्न विषयमा छलफल गरी निर्णयहरु पारित गरेका थिए । सो छलफल वैठकद्वारा बिगेन्द्र सिंह वाईबाको संयोजकत्वमा १०१ सदस्य भएको प्रथम ऐतिहासिक भेला आयोजक समिति गठन भएको कुरा सर्वसम्मतले पारित गरिएको थियो । कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि बिभिन्न कामकालाई सफल बनाउन बिभिन्न विभाग बनाउने छलफल र निर्णय अनुसार आर्थिक संयोजकमा सूर्यमान तामाङ, जनसम्पर्कमा मिनु वाईबा, बिगतमा भएका वाईबा समाजका छलफलको प्रतिवेदन तथा वैदेशिक जनसम्पर्क वाङजु वाईबा, प्रचार–प्रसारमा जयमान वाईबा, कार्यपत्र प्रतिवेदन विभागमा बिगेन्द्र सिंह वाईबा, स्वयम सेवक संयोजकमा मुन्ना वाईबा र धन बहादुर लामा, कलाकार व्यवस्थापन संयोजकमा हेम वाईबा रहेको कुरा जनाएको छ ।
वाईबा समाज नेपालको प्रथम भेलाको प्रारम्भीक कार्ययोजनामा वाईबा समाज भेला सम्मेलनको तयारी र सो भेलाबाट एक तदर्थ समिति गठन गर्ने जसले वाईबा समाजको विधान बनाउने, विधानलाई विधिवत दर्ता गर्ने र विधान दर्ता भएको ६ महिना देखि १ साल भित्रमा वाईबा समाजको वृहत सम्मेलन गर्ने जनाएका छन् ।
वाईबा समाज नेपालले वाइबाको इतिहास र वंशावली खोज अध्ययन गर्ने । डम्जोङ दरबार विकास क्षेत्र र एक प्रतिष्ठान स्थापना गर्ने । वाइबा कुलपुजाको कथा र यसको प्रक्रिया खोज तथा संरक्षण गर्ने । वाईबा बंशको बप्सा, फोला, खोर र वाइबा थरको खोज अध्ययन गर्ने । नेपाल तथा नेपाल बाहिरा प्रतिष्ठित सम्मानित वाईबाहरुको जीवनी संकलन गर्ने । स्वाँगेभाइहरुको खोज अध्ययन विवरण तयार गर्ने । वाइबा समुदायभित्र निहित सम्मानित तथा अग्रजहरुः लामा, बोम्बो÷लब्तबा, ताम्बा, गान्बा÷दोप्ताहरु समाजको अग्रज अंगहरुमा मैत्रि सम्बन्धमा रही वाइबा समाज सञ्चालन गर्ने बताएका छन् ।
सामाजिक विकृति हटाउदै चार समाज लामा, बोम्बो÷लब्तबा, ताम्बा, गान्बा÷दोप्ताहरुमा समावेसी र मैत्रिपूर्ण सुमुधुर सम्बन्ध अभिवृद्धि गर्ने । तामाङ इतिहास, संस्कार, संस्कृति र पहिचानलाई उजागर गर्ने प्रकारले एक संग्रहलय तथा अध्ययन केन्द्रको स्थापना गर्ने दीर्घकालीन लक्ष्य रहेको पनि भेला तयारी समितिका सयोजकले बताएका छन । यसका साथै समाजले अन्य सामाजिक कामहरु गरिब जेहेन्दर विद्यार्थीलाई छात्रवृद्धि प्रदान गर्ने, दैविक प्रकोप विपत्तिमा सहयोग गर्ने र समसामयिक अभियानहरुमा सरिक भै देश निर्माण तथा समृद्धिमा लाग्ने बताएका छन् ।

Comments

comments

Read More

Leave a Comment