दमक गोल्डकपमा झापा ११ लाइ हराउदै मदन भण्डारी विजयी ।

दमक, बैशाख १९ । झापाको दमकमा बुधबारदेखि दमक गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी विजयी भएको छ । उसले मोफसलको चर्चित टोली झापा ११ लाई ४–० गोलले पराजित गर्यो । विजेता मदन भण्डारी प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ ।
मदन भण्डारीका लागि विदेशी खेलाडी म्यापवेल इलोनले २ तथा प्रकाश बुढाथोकी र अर्का विदेशी खेलाडी आबाले एक÷एक गोल गरेका थिए । खेलको १२ औं मिनेटमा इलोनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले झापाका दिलेन लोक्तामले हेड मार्फत क्लियर गर्न खोजेको बललाई इलोनले पोस्टको दिशा दिएका थिए । मदनका लागि दोस्रो गोल २४ औं मिनेटमा प्रकाश बुढाथोकीले गरे । उनले सौजन राईको पासमा गोल गर्न सफल भएका थिए । पहिलो हाफको ३८ औं मिनेटमा पुनः इलोनले व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गरेका थिए । उनले हेडमार्फत आकर्षक गोल गरेका थिए । मदनका लागि खेलको ५८ औं मिनेटमा विदेशी खेलाडी आबाले वान भर्नेस वानमा गोल गरेका थिए ।

बुधबारको खेलमा झापाले आशातित खेल पस्किन सकेन । खेलमा गोल गर्ने अवसर भने पहिला झापाले पाएको थियो । उसले खेलको तेस्रो मिनेटमा पाएको पेनाल्टी अवसरलाई गोलमा परिणत गर्न सकेन । कप्तान कर्ण लिम्बूले गरेको पेनाल्टी प्रहार गोलपोष्टको बारमा लागेर फर्किएको थियो । झापाले दोस्रो हाफमा भने सुधारिएको खेल पस्किएको थियो । १४ औं मिनेटमा मदनका विदेशी खेलाडी इलोनले लगातार दुई पटक गरेको प्रहारलाई झापाका गोल किपर किशोर गिरीले उत्कृष्ट बचाऊ गरेका थिए । ३० औं मिनेटमा पाएको अवसर झापाका खेलाडीहरुले आपसमा तालमेल मिलाउन नसक्दा बललाई गोलको दिशा दिन सकेनन् । लगत्तै ३१ औं मिनेटमा झापाका छिरिङ गुरुङले दिएको क्रस पासलाई कर्ण लिम्बूले सुट गर्न नपाउदा गोल गर्ने अवसर गुमेको थियो । बुधबारको खेलमा विजेता मदन भण्डारीका सौजन राई म्यान अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैया प्राप्त गरे ।

प्रतियोगितामा बिहीबार आयोजक दमक नगरपालिकाको टिम र रुपन्देही ११ बीच खेल हुनेछ ।बैशाख २८ गतेसम्म चल्ने प्रतियोगिताको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । प्रतियोगिताको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैया प्राप्त गर्ने छन् । गोल्डकप दमक नगरपालिकाले आयोजना गरेको हो ।

Comments

comments

Read More

Leave a Comment