रुपन्देही ११ लाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै दमक ११ गोल्डकपको क्वाटरफाइनलमा प्रवेश ।

दमक, २० बैशाख–झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको बिहीबारको खेलमा आयोजक दमक ११ विजयी भएको छ । दमकले रुपन्देही ११ लाई टाइब्रेकरमा ४–३ गोलले पराजित गरेको हो ।

विजेता दमक गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय १÷१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा रुपन्देहीका गोलकिपर सोजित गुरुङको प्रहार क्रस बारमा लागेर फर्किएको थियो । त्यस्तै उसका अजित थापाको प्रहार दमकका गोलकिपर विकास माझीले रोकेका थिए ।

दमकका पाल्साङ तामाङ, रमेश राजवंशी, सन्जय धिमाल र प्रविन राईको प्रहार गोलभएको थियो । दमकका विक्रम लिम्बूको प्रहार क्रसबार माथिबाट बाहिरीएको थियो । रुपन्देहीका अनिश गुरुङ, उमेश थापा र भिसन गुरुङको प्रहार गोल भएको थियो ।

८१ औं मिनेटमा रुपन्देहीका नितिन थापाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । पहिलो गोल खेलको २७ औं मिनेटमा आयोजकका विकेश लिम्बूले गरेका थिए । उनले रुपन्देहीका दुई जना डिफेण्डरबाट खोसेको बललाई रुपन्देहीका गोलकिपर सोजित गुरुङ बिट भएको मौका छोप्दै प्रहार गरेका थिए । विकेशको प्रहार गोल पोस्टको सेकेण्ड पोलमा लागेर जाली चुमेको थियो । आयोजक दमकले सुरुवातदेखिनै आक्रामक खेल खेलेका थियो ।

खेलमा आयोजक दमकको टिम सुरुदेखिनै आक्रामक रुपमा प्रस्तुत भएको थियो । १५ औं मिनेटमा रुपन्देहीका नितिन थापाले प्रहार गरेको बल दमकका गोल किपर विकास माझीले पञ्च गरेर बचाएका थिए । १७ औं मिनेटमा दमकका डिफेण्डरले उत्कृष्ट बचाऊ गरेका थिए । आजको खेलमा बिजयी टिम दमकका गोलकिपर विकास माझी म्यान अफ द म्याच घोषित भए । उनले नगद ११ हजारसहित ट्रफि हात पारे ।

प्रतियोगितामा शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुनेछ । पहिलो क्वाटरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ र मदन भण्डारी स्पोर्टस् एकेडेमीबीच खेल हुनेछ । बैशाख २८ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनकासहित १० टिमको सहभागीता रहने छ ।

गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैया प्राप्त गर्ने छ । गोल्डकप दमक नगरपालिकाले आयोजना गरेको हो ।

Comments

comments

Read More

Leave a Comment