लिवियाली राजधानीमा व्यापक झडपपछि मङ्गलबार शान्त

त्रिपोली, लिबिया, १२ भदौ (रासस÷एएफपी) ः लिबियाको राजधानी त्रिपोलीमा दुई प्रतिस्पर्धी समूहका लडाकूबीच सोमबार झडप भएपनि मङ्गलबार उनीहरूबीच युद्धविराम भएको छ । पाँच जनाले ज्यान गुमाएका भने ३३ जना घाइते भएका छन् ।

घटनाको प्रत्यक्षदर्शी त्रिपोलीका स्थानीय वासिन्दालाई उद्धृत गर्दै सुरक्षा स्रोतले भनेको छ, “सोमबार दिनभर दुई प्रतिस्पर्धी लडाकू समूहबीच व्यापक भडप भएको थियो । दुबै समूहले ट्याङ्कर र पिक अप ट्रकमा बसेर मेसिनगन आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।”

युद्धविरामपछि मङ्गलबार स्थिति शान्त भैसकेको छ । दक्षिण पूर्वी त्रिपोलीको आइनजारा नजिकै भएका झडपमा संयुक्त राष्ट्रसङ्घबाट समर्थन प्राप्त राष्ट्रिय सहमतिको सरकारमा आवद्ध दुई समूह नै सम्लग्न रहेको सुरक्षा स्रोतले जनाएको छ ।

त्रिपोलीबाट दक्षिणपूर्वमा रहेको तरहुना शहरको उक्त दस्ता ‘तथाकथित सातौँ ब्रिगेड’ले सुरक्षाकर्मीमाथी आक्रमण शुरु गरेपछि त्रिपोलीमा तनाव आएको भएपनि उनीहरूबीच सम्झौता भएको लिबियाका गृहमन्त्री अब्देसलाम असौर बताउनुभयो ।

राष्ट्रिय सहमतिको सरकारका रक्षामन्त्री अन्तर्गत रहेको सातौँ ब्रिगेडले आक्रमण शुरु गरेको भएपनि केही घण्टापछि तनाव कम भएको थियो ।

लामो समयसम्म शासन चलाएका मोहम्मर कद्दाफिलाई सन् २०११ मा लिबियाको राजधानीबाट आन्दोलनको बलमा हटाइएपछि त्रिपोलीमा विभिन्न लडाकू दस्ताबाट पटकपटक आक्रमण प्रयासहरू भएका छन् ।

गत बर्ष पनि सरकार पक्षधर समूहले केही अन्य प्रतिस्पर्धी समूहमाथि आक्रमण गरी उनीहरूलाई लिवियाबाट खेद्न सफल भएका थिए । उक्त क्रममा दर्जनौँ मानिसको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए ।

Comments

comments

Read More

Leave a Comment