‘म प्रहरीको मान्छे हो’ भन्दै धम्क्याउने र कुटपिट गर्ने गुरुङ पक्राउ ।

जेठ १ ,बिर्तामोड

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी बस्ने कुर्सीमा आफू बसेको फोटो देखाएर झापाका स्थानीय युवा तथा होटल सञ्चालकलाई धम्क्याउने र कुटपिट गर्दै हिंड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

डिएसपी सुवास खड्का बस्ने कुर्सीमा बसेको फोटो खिची ‘म प्रहरीको मान्छे हो’ भन्दै धम्क्याउने र कुटपिट गर्ने मेनपावर सञ्चालक हर्क गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। गुरुङले आफ्नो ठेगाना झापा दमक बताए पनि उनी भारतीय नागरिक भएको प्रहरीले जनाएको छ।

बिर्तामोडको शनिश्चरे रोडमा रहेको तेह्रथुम सेकुवा कर्नरका सञ्चालक रुद्र कन्दङवा र व्यवसायी चरिन्द्रकुमार चोम्बाङलाई कुटपिट गरेको जाहेरीका आधारमा गुरुङ पक्राउ परेका हुन्।

गत शुक्रबार राति गुरुङसहित १५ भन्दा बढी युवाले जन्मदिनको पार्टी गर्ने भन्दै होटलमा खानपिन गरेका थिए। खानपिनकै क्रममा उनीहरु बीच कुटपिट सुरु भएपछि होटल सञ्चालक कन्दङवाले झगडा नगर्न आग्रह गर्दा गुरुङले कोकको बोतल प्रहार गर्दै कुटपिट गरेका थिए।

गुरुङको कुटपिट र बोतल प्रहारबाट घाइते भएका होटल सञ्चालक कन्दङवाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा गहिरो चोट लागेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

गुरुङको टोलीले कुटपिट पछि होटलमा समेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए। शुक्रबार राति कन्दङ्वाको होटलमा झगडा परिरहेको बेला हेर्न गएको भन्दै गुरुङले आइतबार बिहान होटल नजिकै व्यवसाय गर्दै आएका चरिन्द्र कुमार चोम्बाङ र उनकी श्रीमतीलाई समेत हातपात गरेका थिए।त्यसपछि गुरुङलाई प्रहरीले जाहेरीका आधारमा नियन्त्रणमा लिएको हो।

कसरी पुगे डिएसपीको कुर्सीमा ?

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी बस्ने कक्षमा जो कोही सहजै पुग्न सक्दैनन्। प्रहरी कार्यालयको पुच्छार तलामानै रहेको प्रमुखको कार्यकक्षसम्म पुग्न सुरुवातमा गेटमा सुरक्षार्थ खटिएका प्रहरीले केको लागि आउनुभएको भन्दै सोधपुछ गर्ने गर्छन्।

त्यसपछि भित्र पस्नु अघिको ढोकामा नै सुरक्षाका लागि प्रहरी खटाइएको हुन्छ।प्रमुखको कार्यकक्ष छिर्ने प्यासेजको दायाँ तर्फ हिरासत कक्ष रहेको र हिरासतमा रहेकालाई सहजै देख्न र भेट्न सक्ने स्थान भएकाले प्यासेज हुँदै भित्र पस्नेलाई सुरक्षामा खटिएका प्रहरीले काम र उद्धेश्यबारे धेरै केरकार गर्छन्।

त्यतिमात्र होइन प्यासेजमा पुग्नसाथ भित्र प्रमुखको कार्यकक्ष अघि हिरासतमा भेट्न आउनेको नाम टिप्न र सोध्न कम्तिमा दुईजना प्रहरी खटाइएको हुन्छ। उनीहरुले पनि प्रमुखलाई भेट्नुको उद्देश्यबारे सोधेपछि मात्रै डिएसपीको कार्यकक्ष पुग्न सकिन्छ।

डिएसपीलाई नै भेट्नुपर्ने भए मात्र सो कोठामा पठाउने अन्यथा प्यासेजको देब्रेपट्टी रहेको इन्सपेक्टरले नागरिकको गुनासो र भनाईको सम्बोधन गर्ने गरिएको छ।

तर, यतिको सोधपुच्छ भएर मात्र पुग्न सकिने डिएसपीको कक्षमा पुगी गुरुङले कुर्सीमा नै बसेर फोटो खिचेका छन्। उक्त फोटो खिच्न गुरुङ मात्र नभई उनको अन्य कोही साथी पनि सो कोठामा पुगेको उक्त फोटोबाट प्रष्ठ हुन्छ। सो फोटो उनले सेल्फी नभई कसैलाई खिच्न लगाएका छन्। यो घटनाले उनी इलाका प्रहरी कार्यालय गइरहने र डिएसपी बस्ने स्थानमा पुगिरहेको हुनसक्ने प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए।

यसरी फेला पर्‍यो फोटो
शुक्रबारको झगडा पछि गुरुङले प्रहरीमा जाहेरी नदिन पीडित होटल सञ्चालक रुद्र कन्दङवा र उनका परिवारलाई बारम्बार धम्क्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ। सोहि क्रममा गुरुङ आफू प्रहरीको मान्छे भएको भन्दै पीडितलाई डिएसपीकै कुर्सीमा बसेको फोटो देखाएर झनै त्रसित पारेका थिए।

घाइते अवस्थामा अस्पतालमा उपचार गरिरहेका होटल सञ्चालक रुद्र कन्दङवा र उनकी श्रीमतीलाई अस्पताल पुगेरनै शनिबार पनि धम्की दिएपछि उनीहरुले जाहेरी दिएनन् तर कन्दङ्वाका छिमेकी व्यवसायी चरिन्द्र कुमार चोङबाङ र उनकी श्रीमतीलाई पनि शुक्रबारको झगडा हेर्न किन आएको म प्रहरीको मान्छे हो भन्दै धम्क्याउँदै कुटपिट गरेपछि उनीहरुले प्रहरीलाई जाहेरी दिएका थिए। ‘फोटो हेर्दा डिएसपीकै कुर्सीमा बसेको छ, बा डिएसपीकै मान्छेपो होकी भने डर पनि भयो तर पनि जाहेरी दिएका हौं,’ पीडित चोङबाङले भने।

जाहेरी पछि मात्र गुरुङले डिएसपी बस्ने कुर्सीमा फोटो खिचेको र धम्क्याउने गरेको रहस्य खुलेको प्रहरी प्रवक्ता श्रेष्ठ बताउँछन्। गुरुङ् डिएसपी नभएको समयमा सो कोठामा पुगि फोटो खिचेको अनुसन्धानका क्रममा खुलेको श्रेष्ठको भनाई छ।

गुरुङले डिएसपीको कुर्सीमा बसेको फोटो फेसबुक र म्यासेन्जरबाट अन्य व्यक्तिलाई समेत पठाएर धम्क्याउने गरेको भेटिएकाले विद्युतीय कारोबार ऐन अन्तर्गत कारवाही गरिने साथै कुटपिट र अभद्र व्यवहारअन्तर्गत पनि मुद्धा चलाइने श्रेष्ठले बताए। गुरुङले आफ्नो घर दमक बताउने गरेपनि भारतीय नागरिक भएको सूचना आएकाले अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Comments

comments

Read More