नेपालमा ४३ हेलिकोप्टर दुर्घटना, २३ दुर्घटनामा मानवीय क्षति

  • ई-सरोकार
  • २०८१ श्रावण २४, बिहिबार
  • १७५ पटक पढिएको

नेपालमा ४३ हेलिकोप्टर दुर्घटना, २३ दुर्घटनामा मानवीय क्षति

बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकोप्टर शिवपुरी गाउँपालिका– ७ सूर्यचौर (सुइरेचौर)मा दुर्घटना भयो । दुर्घटनामा हेलिकोप्टर सवार पाइलटसहित पाँचैजनाले ज्यान गुमाए। हेलिकोप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ सवार थिए।

शिवपुरी क्षेत्रमा लागेको बाक्लो कुहिरोका कारण ‘भिजिबिलिटी’ नपुगेपछि क्याप्टेन मल्लले हेलिकोप्टर काठमाडौं वा सूर्यचौर हेलिप्याडमै ल्यान्ड गर्ने क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

नेपाली आकाशमा साढे चार दशकको अवधिमा ४३ हेलिकोप्टर दुर्घटना भएका छन् । यीमध्ये २३ दुर्घटनामा मानवीय क्षति भएको छ । दुर्घटनामा चालक दलका सदस्य र यात्रु गरी १०७ जनाले ज्यान गुमाएका छन् भने तीन दर्जनभन्दा धेरै घाइते भएका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांक छ ।

नेपालमा मानवीय क्षति हुने गरी पहिलो हेलिकोप्टर दुर्घटना २७ डिसेम्बर १९७९ मा रसुवाको लाङटाङ क्षेत्रमा भएको थियो । भिभिआइपी सवार सो दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । यसैगरी ३० सेप्टेम्बर १९९७ मा थुप्तेन चोलिङमा कर्णाली एयरको हेलिकोप्टर दुर्घटना हुँदा एकजनाको मृत्यु र चारजना घाइते भएका थिए । २४ अक्टोबर १९९८ मा मूलखर्कमा एसियन एयरलाइन्सको हेलिकोप्टर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको थियो।

१२ नोभेम्बर २००१ मा राजपरिवारका सदस्यहरू चढेको फिस्टेल एयरको हेलिकोप्टर मुगुको रारा तालमा खस्दा चारजनाको निधन भएको थियो। त्यस्तै, ३० सेप्टेम्बर २००२ मा एसियन एयरलाइन्सको हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाए।

२८ मे २००३ मा सिम्रिक एयर एभरेस्ट बेसक्याम्पमा दुर्घटना हुँदा दुईजना र ४ जनवरी २००५ मा एयर डाइनेस्टी रामेछापमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो। त्यस्तै, २३ सेप्टेम्बर २००६ मा श्री एयरलाइन्सको हेलिकोप्टर ताप्लेजुङको घुन्सामा दुर्घटना भएको थियो । सो दुर्घटनामा २४ जनाको मृत्यु भयो। नेपाली आकाशमा सबैभन्दा धेरै मानवीय क्षति भएको हेलिकोप्टर दुर्घटना घुन्साकै हो ।

यसैगरी १५ नोभेम्बर २००९ मा हुम्लाको रोडिकोटमा मनाङ हेलिकोप्टर दुर्घटना हुँदा एक इन्जिनियरको ज्यान गयो । फिस्टेल हेलिकोप्टर ७ नोभेम्बर २०१० मा आमादब्लम हिमालमा, १९ जुन २०१३ मा सिमिकोटमा र ३ अगस्ट २०१४ मा सिन्धुपाल्चोकमा दुर्घटना भए। आमादब्लममा दुई तथा सिमिकोट र सिन्धुपाल्चोकमा एक-एक जनाले ज्यान गुमाए।

त्यस्तै, १२ मे २०१५ मा सिन्धुपाल्चोकको घोर्थलीमा भूकम्पपीडितका लागि राहत बोकेको अमेरिकी सेनाको ‘युएस मरिन कर्प्स’ हेलिकोप्टर दुर्घटना हुँदा आठजनाको ज्यान गएको थियो । २ जुन २०१५ मा सिन्धुपाल्चोकको यमुनाडाँडामा माउन्टेन हेलिकोप्टर दुर्घटना हुँदा चारजना, ८ अगस्ट २०१६ मा नुवाकोटको बेतिनीमा फिस्टेल दुर्घटना हुँदा सातजना, १४ अगस्ट २०१८ मा हुम्लाको हिल्सामा मनाङ एयर दुर्घटना हुँदा एकजना र ८ सेप्टेम्बर २०१८ मा धादिङमा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो।

त्यस्तै, २७ फेब्रअरी २०१९ मा ताप्लेजुङको पाथीभरामा एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना भएको थियो। दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, क्यानका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, यती ग्रुपका आङछिरिङ शेर्पालगायत सातजनाको ज्यान गएको थियो ।

यस्तै, ५ मे २०२३ मा सिम्रिक एयर संखुवासभाको भाटखोलामा दुर्घटना हुँदा एकजना, ११ जुलाई २०२३ मा लामाजुरा सोलुखुम्बुमा मनाङ एयर दुर्घटना हुँदा ६ जना, १४ अक्टोबर २०२३ मा मनाङ एयरकै हेलिकोप्टर लोबुचे सोलुखुम्बुमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो । बुधबार मानवीय क्षति हुने गरी नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टी दुर्घटनामा परेको छ । यो दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित